नेपालगन्ज, १२ श्रावण– हिन्दू धर्मावलम्बीहरुको आस्थाको रुपमा मान्यता रहेको गाईलाई लिन सकिन्छ । एउटा जनावरको रुपमा मात्र नभई आमा सरह नै मान्यता गरिने र पूजाआजा समेत गरिने परम्परा रही आएको पाईन्छ ।
नेपालगन्ज उपमहानगरपालिका भित्र विगतमा यसै सन्दर्भमा गाई मारियो भनेर विभिन्न धार्मिक संस्थाहरुले चेतावनी समेत दिइएका थिए भने नारा, जुलुस गरी जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाइएको थियो ।
त्यस लगत्तै गाई संरक्षण अभियान सञ्चालन गरी नेपालगन्ज ग्यालेरीले केही महिनासम्म गाईको सेवामा कार्य गरेको तितो यथार्थलाई कसैले बिर्सना सक्दैन तर आज फेरी गाई बिना उपचार र खानाको मर्नु परेको अवस्था आउने छैन भन्न सकिन्न ।
नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको बिर्ता वडा नं. २१ को काँजी हाउसमा सबै किसिमका जनावरलाई एकै ठाउँमा राखी लापरवाही गरिएको छ ।
गाई, भैंसी, घोडा, खच्चड लगायत सबैलाई एकै थलोमा राख्दा एउटामा भएका रोग अर्को जनावरमा छिट्टै सर्ने भएको हुँदा जनावरलाई जोखिम रहेको छ । आज सोही ठाउँमा ३ वटा घोडा मरेका छन् भने करीब ४–५ वटा गाई बिरामी अवस्थामा रहेको देख्न सकिन्छ ।
यस बारे काँजी हाउस व्यवस्थापक पवन कनोजियाको भनाई अनुसार ‘हामीले गर्नु पर्ने सम्पूर्ण कार्य गरिरहेका छौं, दैनिक उपमहानगरपालिकाबाट चेकजाँच गर्ने डाक्टरहरु जाने गरेका छन्, गाईको चाराका लागि ३ जना कर्मचारी खटाईएको छ भने थप व्यवस्थित गर्न तिर हाम्रो ध्यान केन्द्रित रहेको’ बताए ।
त्यसैगरी, स्थानीय व्यक्तिहरुको भनाई अनुसार गाईलाई समयमा चारा (खानेकुरा) उपलब्ध नगराउँदा समेत मर्ने अवस्थामा पुगेको बताउँछन् । लापरवाही नगर्न कर्मचारीलाई अनुरोध गर्दै स्थानीयबासीहरुले ३ जना कर्मचारी भएपनि समय–समयमा हेरचाह गर्न ढिलाई गरिएको बताउँछन् ।