Monday, May 4सत्यम खबर
Shadow

एक्साभेटरको बकेटले हिर्काएर सर्लाहीमा वडाध्यक्षको हत्या

जनकपुर, १२ अषाढ – सर्लाहीमा वडाध्यक्षको हत्या भएको छ । इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शुक्रबार इश्वरपुर नगरपालिका वडा नम्बर–३ मै रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्नका लागि पुगेको बेला वडाध्यक्ष श्रेष्ठको हत्या भएको इश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटाले जानकारी दिए ।
तथापि पोखरीको विषयमा विवाद नभएर आपसी विवाद नै हत्याको कारण रहेको नगरप्रमुख देवकोटाले बताए । पोखरी सौन्दर्यीकरणको कार्य नगरपालिकाकै बजेटबाट भइरहेको थियो ।


सोही पोखरीको सौन्दर्यीकरणको निरीक्षणका लागि वडाध्यक्ष श्रेष्ठ ठेक्केदार प्रेमराज दाहालसँगै पुगेका थिए । पोखरी निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्षबहादुर तामाङसँगै खाजा खान पुगेको र त्यहीँ भनाभनबाट विवाद समेत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
खाजा खाँदासम्म पनि भनाभन जारी नै रहेपछि वडाध्यक्षले चालक तामाङलाई चप्पलले हिर्काएपछि रिसमा जेसिबीको बकेटले प्रहार गरेर वडाध्यक्ष श्रेष्ठको हत्या गरेको कुँवरले बताए ।
‘जेसिबी चालक तामाङले बकेटले वडाध्यक्षको टाउको र छातीमा प्रहार गरेर हत्या गरेको पाइएको छ,’ डीएसपी कुँवरले भने । हत्यापछि उनको शवलाई ठेकेदार र चालक मिलेर गाडेको र शव रातभरि खोजेपछि मात्रै शनिबार बिहान उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।
प्रहरीले पोखरी सौन्दर्यीकरण कार्यका इश्वरपुर–३ कै दाहाल र जेसिबी चालक तामाङलाई पक्राउ गरेको छ । वडाध्यक्ष श्रेष्ठको शवको पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ । (सेतोपाटी अनलाईन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *