
नेपालगन्ज, ७ अषाढ – विद्यालयको पठ्यक्रममा पनि योगा गर्ने तरिका, महत्व र फाइदाका बारेमा पढाउनु पर्ने एक कार्यक्रममा जोड दिइएको छ ।
जिल्ला आयुर्वेदी स्वास्थ्य केन्द्र बाँकेद्धारा सातौ अन्तरार्ष्ट्रिय योग दिवशको अवसरमा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले मानिसको लागि शरीरलाई खानाको आवश्यकता भए जस्तै योगाको पनि आवश्यकता रहेको बताउनु भयो ।
उहाँले सानै उमेरदेखि योग गर्न सिके कतिपय रोग लाग्नै नसक्ने भन्दै विद्यालयस्तरदेखि नै पाठ्यक्रममा योगाभ्यास राख्न जरुरी रहेको बताउनु भयो । उहाँले योगा गर्नले मानिसको शरीरलाई तन्दुरुस्त राख्ने र रोगसँग लड्न सक्ने शक्ति प्रदान गर्ने भएका कारण स्कुलको पढाइसँगै योगाभ्यास गराउनु पर्नेमा जोड दिनुभयो ।
योग गुरु गिरीराज भट्टराइले अहिलेको समयमा योगको महत्व बढेको भन्दै योग भनेको के हो ? कसरी गर्ने के के कुरामा ध्यान दिने भन्दै २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा ३ महिनासम्म छलफल गरेर आजको दिनलाई योग दिवश मनाउने निर्णय गरेको जानकारी गराउनु भयो ।
योग समितिका सल्लाहकार नन्दलाल बैश्यले योग भनेको भाषण सुन्ने होइन गुन्ने हो भन्नु भयो । जिल्ला समन्वय समितिका अध्यक्ष अजय श्रीवास्तमले कोरोनाको समयमा समन्वय समितिबाट १ लाख रकम भेरी अस्पताललाई उपलब्ध गराए पनि आफुलाई कोरोना हुँदा अस्पतालबाट एक कल फोन पनि नआएको र आफुले अस्पतालमा बेड समेत नपाएको बेला योगा र आयुर्वेदी औषधिको सेवनले कोरोनालाई जितेको उदाहरण दिनुभयो ।
आयुर्वेदी स्वास्थ्य केन्द्र बाँकेका अध्यक्ष जनकराम भण्डारीले योगका साथसाथै ध्यान पनि जरुरी रहेको बताउनु भयो ।
यसैगरी आयुर्वेदी स्वास्थ्य केन्द्र बाँकेका सदस्य अछरी पोखरेलले योगको महत्व, योगा गर्ने तरिका र योगा गर्दा ध्यान दिनुपर्ने कुरा र अस्पताल विकास समितिको भुमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा टिटिहिरीया आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ वैद्य मनोजकुमार राय, डा. सन्तोषकुमार शर्मा, पतान्जली योग समितिका अध्यक्ष हरिपाल सिंह, सीताराम चौधरीलगायतले योगको आवश्यकता र महत्वको बारेमा बोलेका थिए ।
आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेद्धारा सातौ अन्तरार्ष्ट्रिय योग दिवशको अवसरमा बिहान ५देखि ७ बजेसम्म योग गुरु गीरीराज भट्टराइद्धारा योगा गराइएको थियो । कार्यक्रममा योग समितिका सल्लाहकारद्धय नन्दलाल बैश्य र विश्वजित तिवारीले आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष जनकराम भण्डारी र सदस्य अछरी पोखरेललाई खादा ओढाएर सम्मान गर्नु भएको थियो ।
आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेका प्रमुख अनिलकुमार चौधरीले योग र आयुर्वेदी औषधिको महत्वको बारेमा प्रष्ट पार्नु भएको थियो ।
