Monday, December 2सत्यम खबर
Shadow

खजुरामा लक्षित वर्गलाई रोजगारी

खजुरा, ९ श्रावण– मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत खजुरा गाउँपालिकामा लक्षित वर्गलाई रोजगारी दिन शुरु गरिएको छ । सो अन्तर्गतका विभिन्न कार्यक्रम मध्ये खजुरा गाउँपालिकाका सिमान्तकृत, दलित, पछाडि परेका र अपाङ्गता भएका महिलालाई लक्षित गरी स्वरोजगारको ब्यवस्थापन गर्न शुरु गरिएको हो । प्रत्यक्ष रोजगारी दिने उद्देश्यले शुक्रवारदेखि सपिङ झोला उत्पादन शुरु गरिएको छ ।
प्रदेश सांसद आइपी खरेल र बाबुराम गौतमले एक साथ उक्त कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा बोल्दै सांसद खरेलले मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको उद्देश्य खजुराले पुष्टि गरेको बताए । उनले लक्षित वर्गलाई प्रत्यक्ष सहभागिता गराउनु नै कार्यक्रमको मूल उद्देश्य भएको बताउँदै खजुराले त्यसै गरेको पाइएको बताए । अर्का सांसद गौतमले यस्ता कार्यक्रम लक्षित वर्गसम्म पु¥याएर दीर्घकालीन प्रभाव पार्न आग्रह गरे ।
खजुरा गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत पहिलो चरणमा ३० जना सिमान्तकृत, दलित, पछाडी परेका र अपाङ्गता भएका महिलाहरुलाई लक्षित गरेर रोजगारको अवसर दिने उद्देश्यले सपिङ झोला उत्पादन् गर्ने कार्यक्रम सञ्चालनमा ल्याईएको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति बताउछन् ।
उनले प्लाष्टिक झोला मुक्त गाउँपालिका घोषणा गर्ने उद्देश्यले झोला उत्पादन गर्न लागिएको बताए । यो कार्यक्रम सफल भएपछि अर्को चरणमा प्रत्येक बर्ष ५०÷५० जना महिलाले रोजगार पाउने गरि कार्यक्रम लागु गर्दै जाने अध्यक्ष कक्षपतिले बताए । अध्यक्ष कक्षपतिले खजुरामा उत्पादन भएका सपिङ झोला नेपालगन्जको भाटभटेनीसँग बिक्रीका लागि सम्झौता भएको बताए ।
यसरी प्रत्यक्ष रोजगारीमा जोडिन पाउँदा लक्षित वर्गले खुशी व्यक्त गरेका छन् । श्रीमान नभएकाले बालबच्चालाई पढाउनकै लागि खजुरा गाउँपालिकाले आयोजना गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत झोला बनाउने कार्यक्रममा लागेको खजुरा २ की कृष्णा बिसी बताउछिन् । उनले आफूसँग सिलाई सम्बन्धि ज्ञान भए पनि सिलाई मेसिन किन्ने क्षमता पनि नभएकाले अन्य ज्याला मजदुरीको काम गर्ने गरेको भन्दै झोला सिलाईबाट आएको आम्दानीले बालबच्चाको पढाईमा लगाउने बताईन् ।
आर्थिक स्थिति कमजोर भएकाले झोला सिलाईको काममा लागेको खजुरा २ की साबित्रा मगर बताउँछिन् । उनले झोला सिलाईबाट आएको रकमले बालबच्चाको पढाईमा मद्दत पुग्ने बिश्वास ब्यक्त गरिन । खजुरा गाउँपालिकाले ८ वटै वडामा प्लाष्टिक झोला मुक्त गर्ने र प्लाष्टिक झोलाको बिकल्पका रुपमा कपडाको सपिङ झोला उत्पादन गर्ने अभियानमा अघि सरेको छ ।
खजुरा क्षेत्रलाई समृद्ध बनाउने देखि स्वच्छ खजुरा बनाउन सपिङ झोला उत्पादन कार्यले निकै राम्रो भूमिका खेल्ने खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउँछन् । कार्यक्रममा उपप्रमुख एकमाया विक, कार्यपालिका सदस्यहरु, विज्ञ समूहका सदस्य, लक्षित वर्गलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *