
नेपालगन्ज, ३ अषाढ – बाँके आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिको अध्यक्षमा जनकराम भण्डारी र सदस्यमा अछरी पोखरेलाई लुम्बिनी प्रदेश स्तरीय मन्त्रि परिषदको निर्णय अनुसार मनोनित गरिएको छ । विगतमा प्रमुख जिल्ला अधिकारी, स्थानिय निकायका प्रमुख र अस्पताल प्रमुख गरी ३ जना मात्र रहेकोमा २ जना थप गरी कार्यसमितिले पुर्णता पाएको हो ।
आयुर्वेद स्वास्थ्य केन्द्रले आज विहिबार मनोनित सदस्यहरुलाई सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ । परिचयात्मक कार्यक्रम पश्चात बसेको समितिको पहिलो बैठकले आयुर्वेद अस्पताल भवन निर्माण सम्बन्धमा, कार्यक्रमको जानकारी तथा सञ्चालन सम्बन्धमा नियमित बैठक सम्बन्धमा निर्णय गरेको छ ।
समितिको नियमित बैठक प्रत्येक महिनाको ७ गते बस्ने र भवन निर्माण कार्यलाई बहुबर्षीय योजना अन्तर्गत राखी दिनको निम्ति प्रदेश योजना आयोगमा सिफारिस गरिदिन अनुरोध गर्ने निर्णय गरेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रको स्तर उन्नती गरी हाल प्रदान गर्दै आएको सेवा अझ प्रभावकारी बनाउने उद्देश्यले समितिलाई पुर्णता दिइएको हो ।
बैठकमा आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख अनिलकुमार चौधरीले हालसम्म गरेका कार्यक्रम र भावि योजनाका बारेमा जानकारी गराउनु भयो ।
यसैगरी जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हरिसचन्द्र शर्माले प्रशासनको तर्फबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताउनु भयो ।
उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धबल शम्सेर राणाले स्थानिय स्तरमा अस्पताल बन्नु खुशीको कुरा भएको भन्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । २०५५ सालमा स्थापना भएको आयुर्वेद स्वास्थ्य केन्द्रमा हाल १० जना कर्मचारी रहेका छन् । उक्त केन्द्रमा प्रशासनिय दक्ष जनशक्तिको अभाव, महिला नर्स तथा अनमिको कमिको अवश्यक रहेको अायुर्वेद स्वास्थ्य केन्द्र प्रमुख अनिलकुमार चौधरीले बताउनुभयो ।
उहाँले आगामी दिनमा स्वास्थ्य शिक्षकहरुलाई स्वास्थ्य प्रशिक्षक प्रशिक्षण तालिम, स्वास्थ्य शिविर र योजना तर्जुमा सूचनामूलक तालिम सञ्चालन गर्ने तयारी रहेको पनि जानकारी गराउनुभयो ।
उक्त कार्यसमितको पदाअवधि ३ बर्ष रहेको छ । उक्त समितिले अस्पताल व्यवस्थापन र सञ्चालनको लागि आवश्यक साधन स्रोतको व्यवस्था गर्ने, अस्पतालको बार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरी कार्यान्वयन गर्ने, अस्पतालले प्रदान गर्ने सेवा शुल्क निर्धारण गर्ने, अस्पतालको बार्षिक प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने, अस्पतालको नियमित मर्मत संभार तथा विस्तार गर्ने, समितिको लागि आवश्यक प्राविधिक तथा प्रशासनिक पद सृजना गर्ने, अस्पतालबाट प्रबाह गरिने सेवाको विस्तार एवं गुणस्तर अभिबृद्धि गर्ने जस्ता काम गर्नुपर्ने आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका सदस्य अछरी पोखरेलले जानकारी गराउनु भयो ।
बैठक आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष जनकराम भण्डारीको अध्यक्षतामा बसेको थियो ।
