
नेपालगन्ज, ६ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का युवराज शाह कोभिड संक्रमण भएपछि सुरुमा भेरी अस्पताल हुँदै उपमहानगरपालिकाले सञ्चालन गरेको रामलिला मैदानस्थित आईसोलेसनमा बस्नुभयो ।
बिहिवार कोभिड निको भई घर फिर्ता हुने क्रममा शाहले कोभिड रोकथाम र नियन्त्रणका लागि नेपालगन्जले गरेको प्रयासको प्रशंसा गर्नुभयो । नेपालगन्जले निःशुल्क पिसिआर परीक्षण र एन्टिजिन परीक्षण, निशुल्क एम्बुलेन्स सेवा, आईसोलेसनमा बस्नेहरुको लागि खाना र नास्ताको व्यवस्था गर्दै आएको भन्दै उहाँले आईसोलेसन बसाई एकदमै राम्रो भएको बताउनुभयो । आईसोलेसनको सम्पूर्ण सेवा र अन्य व्यवस्थापन राम्रो भएको उहाँको भनाई छ । रामलिला मैदानस्थित आईसोलेसनमा चिकित्सकसँगै स्वास्थ्यकर्मीले नियमित रेखदेख गर्दै आउनुभएको छ ।
आईसोलेसनमा गरिएको सम्पूर्ण व्यवस्थापन एकदमै राम्रो छ, डिस्चार्ज हुने क्रममा शाहले भन्नुभयो,– नगरबासीका लागि उपमहानगरले गरेको प्रयास आफैमा सह्रानीय छ । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले कोभिड रोकथाम र नियन्त्रणका लागि सुरुवातदेखि नै नेपालगन्जले आवश्यक तयारी सहित लागि परेको बताउनुभयो ।
आईसोलेसनमा नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख मगर सहित दैनिकजसो पुगेर बिरामीको अवस्था बारे जानकारी लिने तथा स्वास्थ्यकर्मीसँग आवश्यक छलफल गर्ने गर्नुभएको छ । नेपालगन्जले रामलिला मैदान र ह्वाईटहाउसमा आईसोलेसन केन्द्र सञ्चालन गर्दै आएको छ । नगरको वडा नं. ४ र वडा नं. १२ पनि पनि आईसोलेसन केन्द्र सञ्चालनमा छ ।

