भक्तपुर, ४ जेष्ठ – नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले “नामलाई हैन कामलाई सम्मान” भन्ने बिचार पछ्याउँदै एम्बुलेन्स चालक रुपचन्द्र हुमागाईंलाई सम्मान गरेको छ ।
बिगत आठ महिनादेखि नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको एम्बुलेन्स चालकको रुपमा कार्यरत हुमागाईंले यस्तो कोभिडको समयमा पनि दिनरात नभनी चौबीसैं घण्टा भक्तपुर, ललितपुर, काठमाडौं र काभ्रेका जनतालाई सेवा प्रदान गरिरहनु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाका कार्यबाहक सभापति कल्पदीप खड्का,सचिब श्रीराम लामिछाने, कोषाध्यक्ष हरिशरण लामिछाने, सहसचिब मनोज गिरी तथा बिपद व्यवस्थापनका संयोजक बिजय लामिछानेले संयुक्त रुपमा रु.५०००।– नगद सहित हुमागाईंलाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा नगरकोट उपशाखाका कार्यबाहक सभापति कल्पदीप खड्काले यस्तो महामारीको समयमा हुमागाईंले गर्नुभएको कामको सम्मान र उहाँलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नगरकोट उपशाखाले जनतालाई यसरी नै निरन्तर सेवा दिने प्रतिबद्धता जनाउनुभयो ।