नेपालगंज, श्रावण १ गते–बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ मा रहेको सरकारी जग्गा प्रकरणका विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारप्रति नेपाल प्रेस युनियन बाँकेको गम्भिर ध्यानाकर्षण भएको छ ।
उक्त प्रकरणमा पत्रकारहरुको संलग्नता रहेको समाचारलाई लिएर पत्रकार तथा पत्रकारिताप्रति समाजमा नकारात्मक टिकाटिप्पणी भइरहेको पाइएकोले सो सम्बन्धमा आवश्यक छानविन भइ तथ्य बाहिर ल्याउन उपयुक्त हुने भएकाले उपरोक्त विषयका सम्बन्धमा सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउने युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षमा बुधबार बसेको बैठकले निर्णय गरेको छ ।
साथै उक्त प्रकरणको छानविनमा सहयोग पु¥याउनका लागि न्यायिक निकायबाट अन्तिम टुंगो नलाग्दासम्म युनियनका साधारण सदस्य चेतकान्त भट्टराईलाई साधारण सदस्यबाट निलम्बन गर्न नेपाल प्रेस युनियन केन्द्रिय समिति समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।
यस्तै जग्गा प्रकरणमा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदीप वाग्ले सहितका पत्रकारहरुको संलग्नता रहेको भनि प्रकाशित÷प्रसारित समाचारका विषयमा आधिकारिक धारणा बाहिर ल्याउन तथा छानविनमा सहयोग पु¥याउनका लागि आरोपित पत्रकारहरुको साधारण सदस्यता निलम्बन गर्न बैठकले पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण गराएको छ ।
पत्रकार तथा पत्रकारिताको गरिमा अक्षुण बनाइराख्न वास्तविकता जनसाधारण समक्ष आउनुपर्ने अपरिहार्य देखिएकोले तथ्यगत कुरा सम्बन्धित निकायबाट सार्वजनिक गर्न युनियन माग गर्दछ ।
यसैगरी नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरले राजनीतिक पूर्वाग्राही एवम् अबैधानिक ढंगले कर्मचारी छनोट गरेकोप्रति युनियन बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ । कर्मचारी छनोट प्रकृयामा पुर्नःविचार गर्न आग्रह गर्दै नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रमा कार्यरत पत्रकारको पेशागत सुरक्षाको ग्यारेण्टी गर्न तथा टेलिभिजनलाई अमुख पार्टीको भर्ती केन्द्र नबनाउन सरकारसँग युनियन बाँकेले जोडदार माग गर्दछ भनी सचिव विजय मल्लद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।