
नेपालगन्ज, २१ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाले होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउने भएको छ ।
नगर प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा मंगलबार बसेको कोभिड व्यवस्थापन अनुगमन समितिको बैठकले नगर क्षेत्रभित्र होम आईसोलेसनमा बसेका सबैलाई मेडिसिन र हाईजिन किट उपलब्ध गराउने निर्णय गरेको छ ।

फाईल फोटो
स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुको टोली घरमै पुगेर हरेक संक्रमितलाई किट उपलब्ध गराउने नगर उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । पिसिआर परीक्षणको तथ्यांक अनुसार नेपालगन्जमा हाल २ हजार ४ सय जना होम आईसोलेसनमा बसेका छन् ।
बैठकमा होम आईसोलेसन बसेकाहरुलाई नियमित परामर्श दिने र उनीहरुको समस्यामा कसरी केन्द्रीत हुन सकिन्छ भनेर छलफल भएको थियो । बैठकमा वडा स्तरीय फोकलपर्सनहरुले रिपोर्टिङ गरेका थिए । स्वास्थ्यकर्मीहरुको समस्या समितिले तत्काल समाधानका लागि पहल गर्ने निर्णय गरेको स्वास्थ्यशाखा प्रमुख रामवहादुर चन्दले बताउनुभयो ।
