Sunday, April 26सत्यम खबर
Shadow

जमुना नाका स्थापित हेल्थडेस्कमा दैनिक रुपमा सयौं जनाको स्वास्थ्य जाँच हुँदै

शुभम् शर्मा
नेपालगन्ज, १७ बैशाख – नयाँ भेरियन्टको नोभल कोरोना भाईरस कोभिड–१९ को संक्रमण भारतमा खतरनाक तवरले फैलिएपछि भारततर्फ विभिन्न रोजगारी गर्न गएका नेपाली नागरिक त्यहाँबाट स्वदेश फर्केन थालेका छन् ।
रुपैडिहा बजार हुँदै धेरै संख्यामा नेपाली जमुनाहा नाकातर्फबाट नेपालगन्ज नगरमा भित्रि रहेका छन् । नोभल कोरोना भाईरसको संक्रमणमाथि नियन्त्रण पाउन जमुनाहामा हेल्थडेस्कको स्थापना विगत दिनमा नै गरिएको थियो ।
यहाँ भारतबाट आएका नेपालीहरुको शरीरको तापक्रम लिने गरिन्छ । केही बेर रोकिएपछि कोरोना भाईरसको लक्षण लेखिए नेपालगन्ज उपमहानगरपालिकामार्फत सञ्चालित एम्बुलेन्स र नेपाल रेडक्रसको एम्बुलेन्स बोलाई बिरामीहरुलाई थप उपचारको लागि भेरी अस्पतालमा पठाउने गरिएको छ ।


यस सम्बन्धीमा सत्यमखबर डटकमले हेल्थडेस्कमा पुगी त्यहाँको स्वास्थ्य जाँच बारे जानकारी लिएको छ । हेल्थडेस्कका इन्चार्ज चिरञ्जीवी ज्ञवालीसँग यसबारे जानकारी माग्दा उहाँले भन्नुभयो– “हामीले भारतबाट आउने नेपालीहरु कडा निगरानी राखिराखेका छौं । हामी पहिले शरीरको तापक्रम लिन्छौं, कोहीलाई जोरो आएको छ भने थप स्वास्थ्य जाँच प्रक्रिया अघि बढाउँछौं । कोरोना संक्रमित कोही छ भने अनुहारबाट पनि अनुमान लगाउने प्रयास गर्छौ कि सो व्यक्ति बिरामी छ कि छैन । त्यसपछि पिसिआर जाँच किटबाट हामी १५ मिनेट भित्रै कोरोना भएको नभएको जानकारी प्राप्त गर्छौ । कोरोना संक्रमित पाईए थप उपचारको लागि भेरी अस्पतालमा पठाउने गर्छौ” बताउनुभयो ।


उहाँले भन्नुभयो– “हाम्रो यस हेल्थडेस्कमा जनस्वास्थ्य कार्यालयबाट ४ जना कर्मचारी र नेपालगन्ज उपमहानगरपालिकाबाट ८ जना कर्मचारी बिहान ६ बजेदेखि राती ७ बजेसम्म खटाईएका छन् । विगत वर्ष कोरोना फैलिंदा जसरी यहाँ हेल्थडेस्कले काम गरिरहेको थियो त्यो भन्दा राम्रो काम हामी गर्ने प्रयास गरिरहेका छौं ।”


त्यस्तै नेपाल भारत सीमा अगाडी खटिएकी स्वास्थ्य स्वयंसेविका सुशिला बमले स्वास्थ्य जाँच प्रक्रिया बारे जानकारी गराउँदै भनिन् “यो हप्तामा मात्र १ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । आज शुक्रबार बिहान ११ बजेसम्म मात्र १ सय बढी नेपालीहरु स्वदेश फर्किएका छन् । सबैको हामीले शरीरको तापक्रम लिने कार्य गरेका छौं, कोरोना संक्रमित भएको अनुमान लाग्दा नै थप स्वास्थ्य उपचार गर्न शुरु गरिएको बताईन् ।”


नेपाल भारत सीमा जमुनाहा नाकाबाट अहिले दैनिक सयौंको संख्यामा नेपाली स्वदेश फर्किरहेका छन् । त्यसमा जमुनाहामा सञ्चालित हेल्थडेस्कबाट शरीरको तापक्रम लिने गरिन्छ । तर पनि उनीहरुलाई सजिलै नगरमा भित्रिन दिएको छ । यसरी नेपालगन्ज उपमहानगरपालिका भित्र कोरोनाले एक किसिमले विस्फोट नै गरेको छ । ज्येष्ठ १ गतेबाट नयाँ भेरियन्टको नोभल कोरोना भाईरस कोभिड–१९ दोस्रो चरणमा तिब्र रुपमा फैलिने कुरा सार्वजनिक भईसकेको हुनाले यसबाट यहाँ डरत्रास निकै नै बढेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *