बाँके,१३ असोज । सहरी विकास मन्त्री राईले मनोमानी तरीकाले आफनो मनपरी गर्न खोज्ने कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खडकालाई कारवाही गरिने बताएका छन । सबैलाई पायक पर्ने स्थानमा रहेको भेरी यातायात व्यवस्था कार्यालयलाई कोहलपुर सार्ने चलखेल गरेको भन्दै खडकालाई कारवाहीको दायरामा ल्याउने मन्त्री राईले बताएका हुन ।
जिल्लाको ग्रामीण क्षेत्रलाई समेत समेटिने गरि यातायात ब्यवस्था कार्यालय को लागि नेपालगञ्जनै उपयुक्त रहेकोले त्यस लाई अन्त्य सार्ने कुरा आफुलाई मान्य नहुने मन्त्री राईको भनाई रहेको छ ।
बाँकेको नेपालगञ्ज स्थित भेरी यातायात व्यवस्था कार्यालयलाई कोहलपुरमा सार्न चलखेल गरेको भन्दै कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खडकालाई सहरी विकास मन्त्रालयले स्पष्टीकरण समेत सोधेको छ ।
सहरी विकास मन्त्री राईको निर्देशनमा सहरी विकास मन्त्रालयकी सीडीई रमिता श्रेष्ठले यातायात कार्यालय सार्ने विषयमा स्पष्टीकरण दिन खड्कालाई पत्राचार गरेकी छन् ।
स्पष्टीकरण पत्रमा भनिएको छ– उपरोक्त सम्बन्धमा त्यहाँले कोहलपुर नगर विकास समितिको पत्रमार्फत भेरी यातायात कार्यालय, बाँकेलाई आवश्यक पर्ने भवन निशुल्क उपलब्ध गराउने जानकारी सहित पत्र प्रेषित भएको देखियो ।
सो सम्बन्धमा ‘त्यस कार्यालयलाई आवश्यक पर्ने भवन र पूर्वाधारहरु उपलब्ध गराउने सम्बन्धि कुनै पनि निर्णय कोहलपुर नगर विकास समितिको बोर्ड बैठकबाट नभएको ब्यहोरा अनुरोध छ ।’
भनी सदस्य सचिव ईन्जिनियर सुनिल कुमार ठाकुरबाट भेरी यातायात व्यवस्था कार्यालयलाई प्रेषित पत्रमार्फत जानकारी प्राप्त भएकोले सो विषयमा स्पष्टीकरण माग गर्ने मा. मन्त्री ज्यूबाट समेत निर्देशन भएको हुँदा तु स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ ।
सहरी विकास मन्त्रालय मातहत रहेको कोहलपुर नगर विकास समितिका अध्यक्ष खडकाले आफूखुसी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई कोहलपुर नगर विकास समितिका भौतिक पूर्वाधारहरु कार्यालय प्रयोजनका लागि भेरी यातायात व्यवस्था कार्यालयलाई निशुल्क उपलब्ध गराउने भनी निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा यातायात मन्त्री रघुबीर महासेठको निर्देशनमा यातायात व्यवस्था विभागले नेपालगञ्जस्थित भेरी यातायात व्यवस्था कार्यालयलाई कोहलपुरमा कार्यालय सार्ने प्रक्रिया अघि बढाउन भनेको थियो । खड्काले नेकपाका नेताहरुसँगको साँठगाँठमा पदीय अधिकारभन्दा बाहिर गई कोहलपुरमा भेरी यातायात व्यवस्था कार्यालय सार्न चलखेल गरेका थिए ।
हाल भाडामा संचालित कारकाँदोस्थित यातायात व्यवस्था कार्यालयलाई रामलिला मैदान नजिकै रहेको पशु सेवा कार्यालयमा सार्ने तयारी छ । आफू मातहतमा रहेको पशु सेवा कार्यालयमा यातायात व्यवस्था कार्यालय सार्न नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय पनि सकारात्मक देखिएको छ ।