
डुडुवा, १७ फागुन – हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत आम औषधी सेवन अभियान यसवर्ष पनि शुरु भएको छ । उक्त अभियानलाई सफल पार्न गाउँपालिका स्तरिय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी गरिएको छ ।
डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्वारा आईतबार आयोजित कार्यक्रममा यसवर्ष सतप्रतिशत लक्ष्य हासिल गर्न हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाइने भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हात्तीपाइले रोगबाट बच्नका लागि औषधीको सेवन गर्न सबैलाई अनुरोध गर्दै गाउँटोलका आम नागरिकलाई औषधीको फाइदा र सेवनबारे सचेतना फैलाउन जरुरी रहेको बताउनुभयो ।
नागरिक सचेतनाका लागि हामी सबै जनप्रतिनिधी, शिक्षक, नागरिक अगुवाको भुमिका बढी प्रभावकारी भएकाले यो अभियानलाई सफल बनाउनमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य कार्यलय बाँकेका प्रमुख धीरजंग शाहले निर्धक्कका साथ औषधी सेवन गर्न आग्रह गर्दै कुनै पनि भ्रमका पछि नलाग्न अनुरोध गर्नुभयो । उहाँले विगत वर्षदेखि नियमित रुपमा कार्यक्रम सञ्चालन भएपनि बाँके जिल्लाले सतप्रतिशत उपलब्धी हासिल गर्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै यसवर्ष लक्ष्य हासिल गर्नमा सबैको भुमिकाको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखाका सहसंयोजक विरेन्द्र घलेले औषधी सेवनका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, शिक्षक, कर्मचारी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।
बाँकेमा यही चैत्र २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम रहेको छ । डुडुवा गाउँपालिकाले अहिलेसम्म ७७ प्रतिशत उपलब्धी हासिल गरिसकेको छ भने सतप्रतिशत लक्ष्य हासिल गर्न यस वर्ष २२ प्रतिशत पुरा गर्ने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार डुडुवाका करिब ४४ हजार नागरिकलाई औषधी खुवाइने छ । भने त्यसका लागि ४२ जना कर्मचारी र ६० जना महिला स्वास्थ्य स्वयम्सेविका खटाइने छ ।


