Saturday, March 14सत्यम खबर
Shadow

नागरिक समाजको अगुवाइ गर्ने संस्थाको रुपमा परिचित

नेपालगन्ज ९ फागुन – सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आफ्नो आठौ स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले यस वर्ष फरक तरिकाले दिवस तथा सभा मनाएको छ ।
सभाको उद्घाटन सत्र भेरी अस्पताल परिसरभित्र सञ्चालित अञ्जनी माता रसोइमा गरेको छ । उक्त रसोइमा दैनिक करिब तीन सय जनाले रु २० मा खाना खाने गर्दछन् । परोपकारी कार्यलाई प्रबद्र्धन गर्न र अस्पतालका गरिब असहाय विरामी तथा मजदुरलाई पेटभरि खाना खुवाउने कार्यलाई दिर्घकालिन बनाउन संस्थाले होटेल रेष्टुरेन्टमा तिर्ने रकम रोसाईलाई उपलब्ध गराएको छ । संस्थाले रु सात हजार नगद सहयोग गरेको छ ।


उद्घाटन समारोहका प्रमुख अतिथी नेपालगन्जका मेयर डा. धवलशम्सेर राणाले सूचनाको हक र सुशासनका क्षेत्रमा काम गर्ने संस्थाको रुपमा पहिचान कमाएको भन्दै नागरिक अगुवाई गर्ने संस्थागत विकास भएको बताउनुभयो । उहाँले परोपकारी कार्यलाई थप उत्प्रेरित र हौसला प्रदान गर्ने किसिमको कार्यको शुरुवात निकै सरहनिय भएको भन्दै आगामी दिनहरुमा यस्ता सामाजिक संस्थाले यसैगरी आफ्नो अभियान सफल गरेमा सेवाको विकासमा मद्दत पुग्ने बताउनुभयो ।
मधेशी आयोगका सदस्य विजय गुप्ताले छोटो समयमा संस्थाले सञ्चालन गरेको विभिन्न नागरिक अभियान सफल रुपमा उपलब्धीपुर्ण भएकाले नागरिकहरुको नेतृत्व गर्ने एक सक्षम संस्थाको रुपमा आफनो पहिचान बनाइसकेको भन्दै प्रशंसा गर्नुभयो । पुर्व सभासद मोहम्द्दी सिद्दिकीले संबिधानले मौलिकको रुपमा व्यवस्था गरेको नागरिकसँग प्रत्यक्ष जोडिएका अधिकारहरुको कार्यान्वयन गर्नमा सशक्त अवाज उठाएको बताउनुभयो ।


संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उच्च अदालत बार एशोशिएसन नेपालगन्ज अध्यक्ष विकास आचार्य, पुर्ब अध्यक्ष बलबहादुर चन्द, भेरी चिकित्सक संघका अध्यक्ष डा. विनोद कर्ण, लायन्स घनश्याम बैश्य, पत्रकार विजय बर्मा, अधिकारकर्मी आलम खान लगायतले शुभकामना दिनुभएको थियो । त्यस अवसरमा संस्था वर्षभरिको कार्य प्रगतिसहितको प्रतिबेदन संस्थाका सचिव रजनी खनालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम पश्चात रसोइमा सामुहिक भोजन गरिएको थियो ।


यसैगरी संस्थाको बन्द सत्रले सभामा प्रस्तुत भएको प्रगति तथा आर्थिक प्रतिबेदन अनुमोदन गरेको छ । यसैगरी सभामा संस्थाले निर्माण गरेको ३ वटा नयाँ नीति निर्देशिका र दुई नीतिलाई संशोधन र वार्षिक रुपमा समिक्षा गरिएको रणनीतिक कार्ययोजनालाई समेत अनुमोदन गरेको छ । सभाले संस्थाले सञ्चालन गरेको कार्यक्रमको समिक्षा, चुनौती र समस्याको व्यवस्थापन र आगामी वर्षको रणनीति निर्माण गरेको छ ।
यसैबिच संस्थाको स्थापना दिवसका अवसरमा नेपालगन्जका बलात्कृत एक बालिकाको परिवारको आर्थिक अवस्था दयनिय भएकाले उक्त परिवार रु पाँच हजार आर्थिक सहयोग प्रदान गरिएको छ । संस्थाले दिवसको अवसरमा शनिबार हनुमान गढी गौशालामा बृक्षारोपण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *