
नेपालगन्ज, २ फागुन – मानव बेचबिखन राेकथामका लागि सबै मिलेर काम गर्नुपर्ने कुरामा जाेड गरिए छ । अाईतबार नेपालगन्जमा सम्पन्न मानव बेचविखन रोकथाममा कार्यरत सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको समन्वय बैठकमा उक्त भनाई राखिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय बाँके र महिला तथा बालबालिका कार्यालय नेपालगन्जको सहकार्यमा बाँके युनेस्को क्लबले सो बैठकको आयोजना गरेको थियो ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो बेठकको आयोेजना गरिएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।
उहाँले मानव बेचविखन रोकथाममा कार्यरत विभिन्न संघ संस्थाहरुविच समन्वय कायम गर्नुका साथै हालसम्म भए गरिएका काम बारे जानकारी आदान प्रदानका लागि सो बैठक आयोजना गरिएको बताउनुभयो ।
बैठकमा सहभागि मानव बेचविखन रोकथाममा कार्यरत करिब एक दर्जन संघ संस्थाका प्रमुख र प्रतिनिधिहरुले मानव बेचविखन रोक्नका लागि सबैले मिलेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।
बैठकमा बोल्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले मानव बेचविखन रोकथामका लागि सरकारी र गैर सरकारी दुबै संघ संस्थाहरुले एक भएर काम गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
उहाँले यो क्षेत्रमा काम गर्ने संघसंस्थाहरुविच समन्वय र सहकार्यको अभावले गर्दा धेरै संघसंस्थाले एउटै काम गरिरहको हुँदा उदेश्य प्राप्तीमा समस्या भएको बताउनुभयो । केही समय भित्रै जिल्लाका सबै संघसंस्थालाई एकै ठाउँमा राखेर समन्वय र सहकार्य गराइने बताउँदै उहाँले हाल काममा देखिएको डुप्लिकेसनलाई समाप्त पारिने बताउनुभयो ।
महिला तथा बालबालिका कार्यालय नेपालगञ्जका प्रमुख शोभा शाहले मानव बेचविखन विरुद्ध नेपालगञ्ज लगायत बाँकेमा धेरै संस्थाहरुले काम गरिरहेपनि समन्वय, सहकार्य र एकताको अभाव रहेको बताउनुभयो ।
उहाँले धेरै संघसंस्थाले परामर्श केन्द्र र सेल्टर छुट्टा छुट्टै सञ्चालन गर्दै आएकोले समन्वय गरेर संयुक्त रुपमा परामर्श केन्द्र र सेल्टर सञ्चालन गर्न सके बढी प्रभावकारी हुने बताउनुभयो ।
सो अवसरमा साथी संस्थाका सरस्वती शर्मा, महिला जागृति सेलका लक्ष्मी श्रेष्ठ, साना हातहरु नेपालका अम्बिका पुन, आफन्त नेपालका सुनिता सारु, माहुरी होमका सरु हमाल, माइती नेपालका रञ्जना रिमाल र महिला सेलका सुमित्रा राना लगायतले आ आफ्ना संस्थाले गरेका कामहरुको जानकारी गराउनु भएको थियो ।
उक्त बैठकमा मानव बेचविखन रोकथाममा कार्यरत सरकारी तथा गैर सरकारी संस्थाहरुविच समन्वय र सहकार्य कायम गरिने, सबै संघसंस्थाले जिल्ला प्रशासन र महिला तथा बालबालिका शाखामा कामको नियमित रिपोर्टिंग गर्नुपर्ने, सीमापारी र सीमावारीका संघसंस्था र सरकारी निकाय विच नियमित छलफल जानकारी आदान प्रदान गर्ने र जिल्लाका अन्य पालिकामा समेत भिजिट गरेर अवस्था बारे जानकारी लिने र दिने काम गर्ने सहमति सहभागिविच बनेको थियो ।
बैठकमा क्लबका अध्यक्ष राजेन्द्र चौधरी, कार्यक्रम संयोजक बसन्त बीसी, अनुगमन अधिकृत शान्त चौधरी लगायतको पनि सहभागिता रहेको थियो ।
