
नेपालगन्ज, २१ माघ – जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखको रुपमा जिम्मेवारी वहन गरेदेखि नै बाँकेमा रहेका अपराधीहरुले आफूलाई जोगाउन विभिन्न पैतरा अपनाउँदै आएको भएपनि प्रहरी प्रमुख एस.एस.पी. रामबहादुर रानाको नेटवार्कबाट उन्मुक्ति नपाउने भएका छन् ।
सोही अनुसार जिल्लाको चर्चित हत्या प्रविन थापा मगरको मुद्दामा समेत जिल्ला प्रहरी कार्यालयलाई सफलता हात लागी आज पत्रकार सम्मेलन मार्फत प्रहरी प्रमुख एस.एस.पी. रानाले हत्या घटनामा संलग्न ७ अभियुक्तहरुलाई बुधबार सार्वजनिक गरेका छन् ।
राष्ट्रिय अनुसन्धान विभागको जिल्ला कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापा मगरको माघ २ गते नेपालगन्ज उप–महानगरपालिका वडा नं. १८ सुर्जीगाउँका रामसेवक खटिकको तोरीबारीमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी रानाका अनुसार घटनामा संलग्न नेपालगन्ज वडा नं. १८ लग्दहवाका २४ वर्षीय कर्की भनिने दिनेशकुमार कुर्मी (बर्मा), सुर्खेतको गुर्भाकोट १४ गुमी घर भइ नेपालगन्ज वडा नं. १८ बस्ने १९ वर्षीय निश्चल गुरुङ, जाजरकोटको जुनेचाँदी ७ दह घर भइ नेपालगन्ज वडा नं. ४ बसपार्क बस्ने २१ वर्षीय तेज मगर भनिने तेजबहादुर बीएमलाई पक्राउ गरिएको छ ।
यसैगरी नेपालगन्ज वडा नं. ६ फुल्टेक्राका १७ वर्षीय बालक, नेपालगन्ज वडा नं. ५ बसपार्कका १६ वर्षीय बालक र बाँकेको राप्तीसोनारी १ कुसुम घर भइ नेपालगन्ज वडा नं. ४ गणेशपुर बस्ने १७ वर्षीय बालक तथा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० घर भइ नेपालगन्ज २ घरबारीटोल बस्ने १६ वर्षीय बालकलाई पक्राउ गरिएको सार्वजनिक गरेका छन् ।
घटनास्थल नजिकैको कालिकामाई मन्दिर बगैँचा र घटनास्थल वरपरको क्षेत्र लागुऔषध सेवन तथा कारोबार गर्ने ठाउँको रूपमा रहेको हुँदा सहायक सूचक मगर सूचना संकलनका लागि साथी दिनेशकुमार कुर्मीसँगै गएको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख रानाले जनाएका छन् । घटना भएपछि मृतकका साथी कुर्मीले मृतकलाई बचाउन कुनै प्रतिकार नगरेको, घटनापछि भागेको र घटनाका बारेमा घरपरिवार तथा प्रहरी प्रशासनमा समेत जानकारी नगराएको पाइएको जनाइएको छ ।
पक्राउ परेका कुर्मीबाहेक अन्य ६ जना गाँजा सेवनका लागि माघ १ गते ६ बजेतिर बगैँचामा पुगेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । मृतक मगर र उनका साथी कुर्मी मोटरसाइकल रोकि एक सय मिटर टाढा रहेका थिए ।
गाँजा सेवनपछि घर जाने क्रममा विवेक परियारले मृतकका साथी कुर्मीको मोटरसाइकलमा रहेको हेल्मेटको फोटो खिचेर उठाइ लिएर गएपछि विवाद सुरु भएको प्रहरीले जनाएको छ ।
साथीको हेल्मेट माग्न पुगेका सहायक सूचक मगरलाई नजिकै रहेको तारबारमा प्रयोग भएको चिर्पट दाउराले टाउको, निधारको भाग, खुट्टा तथा शरीरको अन्य भागमा प्रहार गरि साथमा रहेको मोबाइल लिएर भागेको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख रानाले जनाएका छन् ।





