नरैनापुर, १७ माघ – नरैनापुर गाउँपालिकाको ८ औं गाउँसभा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नरैनापुर गाउँपालिका प्रमुख ईश्तियाक अहमद शाहको अध्यक्षतामा ४ दिनसम्म सञ्चालन भएको गाउँसभामा गाउँपालिकामा २५ सैय्याको अस्पताल बनाउने जग्गा छनौट गरेर यथासीघ्र अस्पताल निर्माण कार्य अगाडि बढाउने समेत निर्णय गरेको छ ।
गाँउपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष दिनेश शर्माले २५ सैय्याको अस्पताल वडा नम्बर ४ को जयरामपुर्वाको उत्तरमा रहेको ऐलानी जग्गामा स्थानमा अस्पताल बनाउन गरेको प्रस्ताव गाउँसभाले सर्वसम्मतिले पारित गरेको हो । स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि नेपाल सरकारको एक स्थानीय तह एक अस्पतालको अवधारणाअनुसार गाउँपालिकामा अस्पताल बनउनका लागि जग्गा छनौट गरि गाउँसभाले अस्पताल बनाउने निर्णय गरेको हो ।
केन्द्र सरकारले अस्पताल निर्माण गर्ने निर्णय गरेर यसै वर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्न परिपत्र गरेपछि नरैनापुर गाउँपालिकाले जग्गाको खोजी सुरु गरेको थियो ।
यस्तैगरि आठौ गाउँशभाले गाउँपालिकाको वडा नम्बर २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा इमेर्जेन्सी सेवा,आँखा उपचार केन्द्र स्थापना तथा सर्प दन्स उपचार केन्द्र स्थापना गर्ने निर्णय समेत गरेको गाँउपालिका प्रमुख ईश्तियाक अहमद शाहले बताए ।
वडा नम्बर २ का वडाध्यक्ष मसुद अहमद शाहले गरेको प्राथमिक स्वास्थ्य चौकी लक्ष्मणपुरमा इमेर्जेन्सी सेवा, आँखा उपचार केन्द्र स्थापना तथा सर्प दन्स उपचार केन्द्र स्थापना गर्ने प्रस्तावलाई गाउँसभाले सर्व सम्मतिले पास गरेको थियो ।
गाउँसभाले आथिक बर्ष २०७७/०७८ को श्रावण देखि पौष मसान्तसम्मको खर्च बिवरण सम्बन्धमा समेत छ्लफल गरेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत महेन्द्रजंग शाहीले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार गाउँसभाले कर्मचारी कल्याण कोष समेत स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिकामा काम गर्दागर्दै सेवा निबृत हुने कर्मचारीहरुले अवकास पछि पनि केही सहयोग पुर्याउने उद्देश्य अनुरुप कर्मचारी कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको प्रमुख प्रशाशकीय अधिकृत शाहीले बताउनुभयाे ।