Friday, November 22सत्यम खबर
Shadow

‘७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो ?’: ओलीलाई प्रचण्डको प्रश्न

विराटनगर, १६ माघ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी ओली उनका समर्थकले निरन्तर परिवारवादमा फसेको आरोप लगाइरहेका छन् ।
शुक्रबार विराटनगरमा पार्टीले आयोजना गरेको शक्ति प्रदर्शनका क्रममा दाहालले ओलीलाई जवाफ फर्काएका छन् । केही दिनअघि ओलीले प्रचण्डलाई पारिवारिक रुपमा लाञ्छना लगाएका थिए ।
‘तपाईंहरूलाई थाहा छ, मैले लामो जनयुद्धको र त्यसपछि शान्ति प्रक्रियाको पनि नेतृत्व गरें, त्यो लामो आन्दोलनमा मेरा छोराछोरी अरु सरह लडे,’ उनले भने, ‘उनीहरू जनताबाट चुनिए । तर, केपी ओलीले जसरी धर्म छोराछोरी पालेर भ्रष्टाचारको पक्षपोषण गरिनँ ।’


उनले सोधे, ‘७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो ? देश कोरोनाको महामारीमा परेका बेला त्यसको औषधिमासमेत भ्रष्टाचार गर्नेलाई संरक्षण गर्ने हो हो ?’
उनले आन्दोलनमा लडेर आफू र आफ्ना परिवारले गल्ती गरेको हो ? भन्दै उपस्थित समर्थकलाई सोधे । भिड चिच्यायो ‘होइन…।’
आफ्नो परिवारका सदस्यमाथि ओलीले निरन्तर आक्रमण गरेको बताउँदै दाहालले ओलीको अत्याचार नसहने बताए ।
दाहालले आवश्यक परे प्रतिनिधिसभाको बैठक बोलाउने चेतावनी पनि दिएका छन् ।
संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको तर आफूहरुलाई प्रतिनिधिसभाको बैठक गर्ने अधिकार संविधानले दिएको भन्दै दाहालले यस्तो चेतावनी दिएका हुन् ।
‘जरुरी प¥यो भने हामी संसद् बैठक बोलाउने छौं,’ दाहालले भने, ‘त्यो अधिकार हामीलाई संविधानले दिएको छ ।’ प्रधानमन्त्री ओली प्रतिक्रान्तिकारीहरूको गोटी बनेको आरोप लगाउँदै उनले यस्तो यात्रा लामो नजाने घोषणा गरे ।
संसद विघटन गरेर ओलीले संविधान विघटनको प्रयास गरेको भन्दै दाहालले थपे, ‘नेपालको इतिहासमै पहिलोपटक जनताका प्रतिनिधिले बनाएको संविधानमाथि उनले हमला गरेका छन् । यो जनताको सार्वभौमिकतामाथिको हमला हो ।’
आन्दोलनले देशव्यापी उभार पाएको उल्लेख गर्दै दाहालले आफूले केपी ओलीको खुट्टी नापेको पनि बताए । ‘ओलीको खुट्टी कस्तो र कत्रो छ, मैले जानिसकेको छु,’ उनले भने, ‘त्यसैले अब धेरै फुर्ती नलाए हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *