९ महिनापछि आकर्षक रुपमा जन्मिनुअघि आमाको कोखमा बच्चा कुन अवस्थामा कसरी बसेको हुन्छ भन्ने विषयमा सबैलाई खुल्दुली हुन सक्छ । कोखमा रहेको शिशु केबल त्यहाँ बस्ने र समयक्रम अनुसार वृद्धि भएको हुन्छ । तर यतिमै सीमित हुँदैन उनीहरुको ९ महिने चक्र । पेट भित्रको भ्रुण आफैंमा एउटा रहस्य हो, जसलाई चिकित्सकले खासै खुलासा गर्दैनन् ।
रुन्छन्
आमाको कोखभित्र रहेको बच्चा रुन्छन् भन्दा तपाईंलाई साहै दुःख लाग्न सक्छ । तर सत्य यो हो, उनीहरु बारम्बार सुस्तरी–सुस्तरी रोइरहेका हुन्छन् । गर्भवतीको तेस्रो त्रैमासिकमा लिइएको डिजिटल अल्ट्रासाउन्डमा कोख भित्रको बच्चाले मुख खोलेको, आँशु चुहाएको, ओठ कमाएको र विस्तारै मुठी पारेर रोएको संकेत देखिन्छ । तापनि भावनात्मक रुपमा उथलपुथलभन्दा पनि शिशुको नियमित विकासको प्रक्रियालाई लिइन्छ ।
स्मरण गर्छन्
युनिभर्सिटी अफ हेल्सिन्कीको एक अध्ययनअनुसार कोखभित्र कुनै विशेष गीत वा लयमा आफ्नो दिमाग चलाउने बच्चा जन्मेपछि पनि चलाख र बढी स्मरण शक्ति भएका हुन्छन् ।
स्वाद थाहा पाउँछन्
पेडियाट्रिकमा प्रकाशित एक अध्ययनअनुसार तेस्रो त्रैमासिक अवधिमा प्रर्याप्त गाजर खाने आमाहरुको शिशु जन्मेपछि सागपात खान बढी रुचाउँछन् । अवश्य पनि शिशुले कोखमा बसेर खाना खाँदैन तर गर्भवती आमाले खाएको खानेकुराको तरल पर्दाथबाट उनीहरु बाँचेका हुन्छन् । र, यसको स्वाद पनि उनीहरुले थाहा पाउँछन् । विशेषगरी झोलिलो र फलफूलको स्वाद शिशुले थाहा पाउँछन् ।
सुन्छन्
कोखमा रहेका शिशु सुन्छन् पनि । त्यही भएर गर्भवतीलाई राम्रो श्लोक बाचन गराउने परम्परा छ । युनिभर्सिटी अफ फ्लोरिडाको एक अध्ययनअनुसार आमाहरुले विशेष प्रकारको लय बाचन गर्दा भ्रुणको मुटुको गति घट्छ । अन्य मानिसहरुले चर्को आवाजमा गीत गाउँदा वा श्लोक बाचन गर्दा पनि शिशुहरुले सुन्न सक्ने बताइन्छ ।
तनावप्रति प्रतिक्रिया जनाउँछन्
गर्भवतीलाई तनाव भयो भने कोखको भ्रुणलाई पनि तनाव हुने गर्छ । त्यही भएर गर्भावस्थामा आमाहरुलाई शान्त र आनन्द हुन अनुरोध गरिन्छ । ल्यानकास्टर र डुरहाम विश्वविद्यायलले गरेका दुई भिन्दाभिन्दै अध्ययनमा गर्भवती आमाले नकरात्मक प्रतिक्रिया दिँदा र आवेगमा आउँदा शिशुहरु पनि उत्तेजित हुने र आफ्नो अनुहार देब्रे हातले ढाक्ने
गर्छन् । तसर्थ नयाँ जीवनलाई खुसी र आनन्दित बनाउन आनन्दसँग श्वास लिनुहोस र सदैव खुसी बन्नुहोस ।
अभिव्यक्त पनि गर्छन्
डुरहाम र ल्यानकास्टर विश्वविद्यालयले गरेका अध्ययनअनुसार २४ साता भएका शिशुले ङिच्च हाँस्ने र ३६ सातामा आँखीभौं उचाल्ने गर्छन् ।
(स्रोतः स्वास्थ्यखबरबाट)