Saturday, April 18सत्यम खबर
Shadow

ग्लोबल सहकारीको आठौं वार्षिक साधारण सभा सम्पन्न

नेपालगन्ज २१ पौष – ग्लोबल बचत तथा ऋण सहकारी संस्था लि. नेपालगन्जको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलवार उक्त सहकारी संस्थाको कार्यालयमा सो सभा सम्पन्न भएको हो ।
जिल्ला सहकारी संघका प्रवन्ध सञ्चालक नवराज उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न उक्त आठौं वार्षिक साधारण सभामा वक्ताहरुले नेपाल जस्तो गरीब तथा विकासोन्मुख मुलुकमा सहकारीको महत्व र आवश्यकताको बारेमा आ–आफ्नो विचार व्यक्त गरेका थिए ।


सभाको सभापति तथा सो सहकारी संस्थाका अध्यक्ष युवा व्यवसायी विशाल श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विश्वव्यापी रुपमा फैलिएको कोविड–१९ का कारण नेपाल लगायत विश्व तरंगित भएको अवस्थामा सहकारी संस्थाहरुलाई पनि प्रत्यक्ष असर पुग्न गएको प्रति आफुहरु गम्भीर भई बचतकर्ताको रकममा कुनै पनि समस्या उत्पन्न हुन नदिएको बताउनु भयो ।
गत आ.व. २०७६÷०७७ मा सहकारी संस्थाले रु. ३ लाख ४८ हजार सतासी रुपैयाँ खुद नाफा कमाएको अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार रु. ४ करोड ९९ लाख ५४ हजार ४ सय ९१ रुपैयाँको कुल कारोबार गरेको ग्लोबल सहकारीले पछिल्लो समय यस क्षेत्र मै उत्कृष्ट रुपमा काम गरिरहेको छ । ग्लोबल सहकारीमा बाँके जिल्लाभरी हालसम्म ७ सय ४५ शेयर सदस्य रहेका छन् ।


उक्त साधारण सभामा वरिष्ठ पत्रकार पूर्णलाल चुके, संस्थाका निवर्तमान अध्यक्ष वेदप्रकाश सिंह ठकुरी, गृहलक्ष्मी बचत तथा ऋण सहकारीका प्रवन्धक डम्मरमान श्रेष्ठ, बचत संघ लेखा समिति सदस्य छविलाल यादव, समाजसेवी धर्मेन्द्र शर्मा, युवा स्वरोजगार बाँकेका प्रमुख नितेश शर्माले आ–आफ्नो विचार राख्दै ग्लोबल बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्य र बचतकर्ताहरुको विश्वास जित्दै जिल्ला मै नमूनाको सहकारीको पहिचान बनाउन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सहकारी संस्थाका सचिव अम्बासिंह ठकुरी, शेयर सदस्यहरु, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *