Saturday, April 18सत्यम खबर
Shadow

मनकामना विद्यालय भवन उद्घाटन

खजुरा, १७ पौष – बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ मा मनकामना आधारभूत विद्यालयको तीन कोठे नयाँ भवन निर्माण भएको छ । भूकम्प प्रतिरोधी नयाँ सुविधा सम्पन्न भवनको शुक्रवार खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले एक समारोहका वीच उद्घाटन गरे ।
विल्ड अन नेपालबाट २१ लाख ६ हजार ३६१ रुपैयाँ बराबरको निर्माण सामाग्री, खजुरा गाउँपालिकाबाट ५ लाख, खजुरा गाउँपालिका वडा नं. ४ बाट १ लाख ५० हजार, विद्यालयको आन्तरिक स्रोतबाट ९९ हजार ६२६ रुपैयाँ र जनश्रमदान गरी उक्त भवन निर्माण गरिएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कक्षपतिले शिक्षाको गुणस्तर सुधारका लागि खजुरा गाउँपालिकामा जनप्रतिनिधि आएदेखि नै बजेटमा प्राथमिकता दिएर भौतिक संरचना निर्माणका साथै खेलकुद, अतिरिक्त क्रियाकलाप, शैक्षिक महोत्सव, दिवा खाजा लगायत कार्यक्रम अगाडि सारेको बताए ।


कोभिडका कारण प्रभावित भएको शिक्षा क्षेत्रलाई अगाडि बढाउन पालिकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय संचालन गरी पठनपाठन संचालनमा ल्याएको बताए । नयाँ बनेको भौतिक संरचना विद्यालयका लागि महत्वपूर्ण संरचनाका रुपमा स्थापित भएको बताउँदै कक्षपतिले हाल खजुरा क्षेत्रभित्रका विद्यालयहरुमा हरेक दिनजसो अनुगमन भइरहेको उल्लेख गरे ।
उनले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिमा उत्तिकै प्राथमिकताका साथ पालिका अगाडि बढेको बताउँदै कृषितर्फ बिएससीएजी, २ वटा नमूना विद्यालयमा प्राविधिक शिक्षा संचालनमा रहेको बताए ।


विश्वविद्यालयको लागि जग्गा छ्ट्याउने काम भइरहेको बताउँदै खजुरालाई शैक्षिक हब बनाउन सबै खजुरा बासी लाग्नु पर्नेमा अध्यक्ष कक्षपतिले जोड दिए । खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनारले वडा नं. ४ मा खेलकुद, शिक्षा, स्वास्थ्य सबै संरचना निर्माण भएको उल्लेख गर्दै आगामी वर्षदेखि वडा कार्यालयको लागि बजेट माग गरिने बताए ।


मनकामना आधारभूत विद्यालय बलभद्रपुर व्यवस्थापन समितिका अध्यक्ष देउराम बिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक तीर्थबहादुर विकले विद्यालय भवन बनेकोमा आभार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *