Sunday, April 26सत्यम खबर
Shadow

नयाँ कोरोना भाईरसले संसारभर ५६ प्रतिशत बढी संक्रमित

नेपालगन्ज, (एजेन्सी) १२ पौष – जापान, स्पेन, फ्रान्स र क्यानडामा केही मानिसहरूमा पहिले भेटिएभन्दा धेरै संक्रमण जोखिम भएका कोरोना भाइरस फेला पारेको छ । यी मध्ये धेरै संक्रमित बेलायत यात्राबाट आएकाहरूसँग सम्बन्धित छन् ।
ब्रिटेनमा हालै मात्र कोरोनाको नयाँ किसिमको संक्रमण पुष्टि भएको छ र सोका कारण लन्डन र दक्षिण इङ्ल्याण्डमा लकडाउन गरिएको छ ।
नयाँ भाइरस आफ्नो मुलुकमा ब्रिटेनबाट भित्रिएको भन्दै फ्रान्सले बेलायतसँग सीमा जोडिएको इण्लिस च्यानलबाट हुने मानव आवागमनमा रोक लगाएको छ ।
नयाँ किसिमको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै विश्वका थुप्रै मुलुकले ब्रिटेनबाट आउने यात्रीमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।


ब्रिटेनमा भएजस्तो संक्रमण निगरानी विश्वका थोरै राष्ट्रमा मात्र भएकाले नयाँ प्रकारको कोरोना भाइरस दुई सातासम्म संसारका अन्य ठाउँमा पहिचान हुनु अगावै पुगिसकेको ठानिएको छ ।
ब्रिटिस वैज्ञानिकहरूले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको यो नयाँ प्रकार संसारले हाल सामना गर्दै आएको भाइरसभन्दा बढी संक्रामक भएको पत्ता लगाएका छन् । यो भाइरस यसअघि भेटिएको भाइरसभन्दा ५६ प्रतिशत संक्रामक भएको अनुमान छ ।
हालसम्म बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना भाइरस जापानका सात जनामा पुष्टि भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भेटिएका संक्रमितमध्ये अधिकाशं या त बेलायतबाट फर्किएका वा उनीहरूको सम्पर्कमा आएकाहरू भएको जनाइएको छ ।
नयाँ प्रकारको कोरोना भाइरस पहिचान भएपछि जापानले गैरआवासिय विदेशी नागरिकको जापान प्रवेशमा रोक लगाएको छ। सोमबार मध्यरातबाट लागु हुने यो रोक जनवरीको अन्त्यसम्म कायम हुने जापानको राष्ट्रिय टेलिभिजन एनएचकेले जनाएको छ ।
त्यस्तै स्पेनको राजधानीमा नयाँ कोरोना भाइरस भेटिएको जानकारी त्यहाँका स्थानिय अधिकारीले दिएका छन् । हालसम्म चार जनामा यसको पुष्टि भएको छ भने अन्य तीन जनालाई शंकाको घेरामा राखिएको छ ।
भेटिएका मध्ये कम्तीमा दुई जना हालै बेलायतबाट फर्किएकाहरू हुन् भने अन्य उनीहरूका नातेदारहरू हुन् । फ्रान्समा नयाँ किसिमको संक्रमणका संक्रमित शुक्रबार पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फ्रान्सका अधिकारीका अनुसार संक्रमण पुष्टि भएका व्यक्ति ब्रिटेनमा बस्दै आएका फ्रेन्च नागरिक हुन् । उनी डिसेम्बर १९ मा लन्डनबाट आएका थिए ।
त्यस्तै क्यानडाको ओन्टारियोका अधिकारीहरूले शनिबार दुई जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । संक्रमितहरू दम्पति हुन र उनीहरूको कुनै यात्रा विवरण छैन । भाइरस स्वरूप परिवर्तन गर्नु सामान्य हो र हालसम्म परिवर्तित भएका भाइरसहरूमध्ये अधिकांश त्यति खतरनाक छैनन् ।
तर बेलायतमा पुष्टि भएको नयाँ प्रकार भने २३ वटा म्युनटेसन भएको भाइरस हो, जसमा धेरैजसोले नयाँ किसिमले संक्रमण फैलाउने देखाएको छ ।
खोप विज्ञहरू हाल उपलब्ध खोपहरू यी नयाँ भाइरससँग पनि लड्न सक्षम हुनेमा विश्वस्त छन् यध्यपी यसको परीक्षण पुष्टि हुनु जरूरी छ । हाल उपलब्ध खोप नयाँ प्रकारको भाइरससँग लड्न सक्षम भए नभएको जाँच चलिरहेको छ ।
युरोपियन युनियनका सदस्य राष्ट्रहरूले आइतबारबाट फाइजर–बायोएनटेकले बनाएको खोप लगाउन सुरू गर्दैछन् । हंग्रेरीले शनिबारबाट नै खोप अभियान सुरू गरिसकेको छ ।
यसैगरी अन्य नयाँ प्रकारका भाइरसहरूको पनि पहिचान भएको छ । तीमध्ये एउटा दक्षिण अफ्रिकामा भेटिएको छ भने अर्को नाइजेरियामा भेटिएको छ ।
नयाँ प्रकार भेटिएसँगै बेलायतले दक्षिण अफ्रिकाबाट हुने बेलायत यात्राम प्रतिबन्ध लगाएको छ । दुई जनामा त्यहाँ भेटिएको भाइरसको संक्रमण पुष्टि भएपनि यात्रामा प्रतिबन्ध लगाइएको हो ।
यसैगरी जर्मनी र सिङ्गापुरमा पनि नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ भने डेनमार्कले सो भाइरस आफ्नो मुलुकमा भित्रिए–नभित्रिएकोमा निगरानी गरिरहेको छ । निगरानीका क्रममा त्यहाँ नोभेम्वर १४ देखि डिसेम्बर १४ को अवधिमा ३३ जनामा नयाँ किसिमको संक्रमण पुष्टि भएको डेनिस अधिकारीहरूले जनाएका छन् ।
अमेरिकाले भने हालसम्म नयाँ किसिमको कोरोना भाइरसका संक्रमित भेटिएको पुष्टि गरेको छैन् ।
उसले बिहीबार बेलायतबाट आउने यात्रुमा ७२ घण्टाको अवधिमा कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र हुनुपर्ने बताएको छ । यो नियम सोमबारबाट लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *