
नरैनापुर,९ पाैैैष – बाँकेको नरैनापुरमा आज विहिबारदेखि स्थानिय आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा आएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले आपतकालीन कार्य सञ्चालन केन्दको उद्घघाटन गरेपछि स्थानिय आपतकालीन कार्य सञ्चालन केन्द सञ्चालनमा आएको गाउँपालिकाका सुचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए ।
स्थानिय आपतकालीन कार्य सञ्चालन केन्द उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले अब नरैनापुरमा पनि आपतकालीन बिपदमा उद्धार गर्न सहजता हुने बताए । स्थानिय आपतकालीन कार्य सञ्चालन केन्द्रको सम्पर्क र समन्वय सिधै जिल्ला, प्रदेश र केन्द्रसँग हुने भएकोले बिपद प्रतिकार्यको सामना गर्न, पुर्व तयारी तथा सुचना सम्प्रेषण, दस्ताबेज र अभिलेखीकरणमा समेत सजिलो हुने उनको भनाई रहेको थियो ।
गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रजिअ कुरुम्बाङ्ग नेपाल रेडक्रस सोसाईटी बाँकेका सभापति, कोषध्यक्ष, महामन्त्री तथा जिल्ला बन कार्यालय बाँकेका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो भने कार्यक्रममा स्वागत मन्तब्य गाउँपालिकाका जिन्शी तथा प्रशासन शाखा प्रमुख भरत महतोले गरेका थिए । गाउँपालिकाको बिपद ब्यवस्थापन समिति मातहत रहेर काम गर्ने आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सहज सञ्चालनका लागि नेपाल रेडक्रस सोसाईटी बाँकेले ६ लाख बराबरको बिभिन्न सामग्री समेत प्रदान गरेको छ ।
रेडक्रसले केन्द्रलाई फलेस एलसिडी, कम्प्युटर, प्रिन्टर, ईन्भर्टर, ५० थान लाईभ जकेट टेन्ट र जुत्ता लगायतको सामग्री प्रदान गरेको सुचना अधिकारी मिश्राले बताए । बर्षेनी आगलागि, बाढी, खडेरी र मौसमी महामारीदेखि पिडित हुँदै आएको नरैनापुरमा स्थानिय आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा आएपछि बिपद प्रतिकार तथा राहत उद्धार कार्यमा सजिलो हुने अपेक्षा गरिएको छ ।
