
दाङ, ७ पौष – पूर्व सभामुख कृष्णबहादुर महराले आँफु बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको बताए ।
सोमबार नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको १३ औं दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै महराले आफू बृहत् कम्युनिष्ट एकताका लागि निरन्तर लाग्ने बताए ।

‘म बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकताको पक्षमा छु,’ उनले भने, ‘म कहाँ रहन्छु भन्ने कुरा महत्वपूर्ण होइन, मेरो आदर्श र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकता हो ।’
त्यस्तै उनले अहिले देश दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै बहस र छलफलकै माध्यमबाट निष्कर्ष निकाल्न सकिने धारणा व्यक्त गरे। नेपालमा अहिले भइरहेको घटनाक्रममा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको हात भएको समेत उनले संकेत गरे। उनले भने, ‘देशभन्दा बाहिर धेरै परको डिजाइनबाट यो चलखेल भइहेको छ ।’
‘हामी केही समय विभाजित हुन सक्छौं, तर हामी विभाजित मानसिकतामा रहनु हुँदैन’, उनले भने । छलफल र बहसलाई तुषको रुपमा नभएर स्वच्छ रुपमा लैजानुपर्ने उनको भनाइ थियो ।
अहिलेको अवस्थामा प्रतिक्रियावादीविरुद्ध लाग्दै जनताको सेवा गर्नुपर्ने बेला भएको पनि उनले बताए । नेपाली कम्युनिष्ट आन्दोलनमा माणिकलाल गौतमका योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै सच्चा कम्युनिष्टहरु एकता र सहकार्यको पक्षमा लाग्नु पर्ने धारणा व्यक्त गरे ।
