Thursday, March 12सत्यम खबर
Shadow

प्रधानसेनापतिको निर्देशन–विप्लव लगायत समूहको गतिविधि बढेको छ, शान्ति–सुरक्षा कायम गर्न तयार रहनू

काठमाडौं, २९ मंसिर – प्रधान सेनापति पूर्णचन्द्र थापाले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्व समूहको गतिविधिलाई सुक्ष्म ढंगले अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
देशका विभिन्न गण–गुल्महरूको भ्रमण क्रममा प्रधानसेनापति थापाले विप्लप समूहका गतिविधि पछिल्लो समय हिंसात्मक हुँदै गएको भन्दै ’अलर्ट’ रहन निर्देशन दिएका छन् ।
’कालीकोटमा जनसरकारको घोषणा गरेका छन् । मोरङमा शिक्षक मारेका छन् । ठाउँठाउँमा विष्फोट समेत गराएका छन् । त्यसैले अब हामी चनाखो हुनुपर्छ भनेर प्रधानसेनापतिले निर्देशन दिनुभएको छ,’ सैनिक स्रोतले भन्यो, ’कुनै दिन विप्लप समूहका गतिविधिका कारण सर्प्राइज हुन नपरोस् भनेर सेनाले उनीहरूका गतिविधि सुक्ष्म अध्ययन गरिरहेको छ ।’

प्रधान सेनापति पूर्णचन्द्र थापा


सैनिक जनसम्पर्क निर्देशनालयले गैरसंवैधानिक प्रक्रियामा रहेका हिंसात्मक प्रकृतिका समूहको सम्भावित गतिविधिसँग जानकार रहन प्रधानसेनापतिबाट निर्देशन भएको जनाएको छ ।
’भ्रमण क्रममा सबै युनिटमा गर्नुभएको सम्बोधनमा गैरसंवैधानिक प्रक्रियामा रहेका हिंसात्मक प्रकृतिका समूहहरूको सम्भाावित गतिविधिसँग जानकार रहन निर्देशन दिनुभएको छ,’ सैनिक जनसम्पर्क निर्दशनालयले भनेको छ, ’असन्तुष्ट समूहहरू आपराधिक क्रियाकलापमा संलग्न भई समाजमा हिंसा र आतंक सृजना गर्दै जान सक्ने अवस्था मध्यनजर गर्दै स्थानीयस्तरमा सबै सुरक्षा निकायसँग समन्वय गरी शान्ति सुरक्षा र स्थिरता कायम राख्न तयारी हालतमा रहन समेत निर्देशन दिनुभएको छ ।’
कोरोनाविरुद्धको लडाइँमा प्रदेश सरकार र स्थानीय सरकारलाई दिँदै आएको सहयोगलाई निरन्तरता दिन प्रोत्साहित गर्दै हिउँदमा संक्रमण थप बढ्न सक्ने भएकोले सुरक्षा मापदण्ड पालना गर्न समेत प्रधानसेनापति थापाले निर्देशन दिएका छन् ।
आगामी परिस्थितिमा समेत प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक सक्दो सहयोग पु¥याउन कमाण्डरहरूलाई निर्देशन दिएको सेनाले जनाएको छ ।
सेनाबाट अवकास पाइसकेपछि वैदेशिक रोजगारीमा जाने संख्या बढेको भन्दै प्रधानसेनापति थापाले स्वदेशमै उपलब्ध सबै अवसर उपयोग गर्न प्रोत्साहित गर्ने प्रयास समेत गरेका छन् ।
’वैदेशिक रोजगारी मोहमा आफ्नो स्वाभिमान गिराउने काममा नलाग्न र नेपाली सेनाको कल्याणकारी कार्यक्रम अन्तर्गत स्वरोजगार र अवकाशपूर्व रोजगारीका लागि उपलब्ध गराइने सीपमूलक तालिम सदुपयोग गर्न प्रधानसेनापतिले प्रेरित गर्नु भएको छ,’ सैनिक जनसम्पर्क निर्देशनालयले भनेको छ, ’भ्रमणको उद्धेश्य वैदेशिक रोजगारीको मोहमा छिट्टै सेवा छाड्ने प्रवृत्ति त्यागी सैनिक सेवामा लामो समय रहन पनि प्रेरित गर्नु पनि हो ।’
कर्णाली, सुदूरपश्चिम र प्रदेश १ का गरी १५ भन्दा बढी गण गुल्म भ्रमण गरेका प्रधानसेतापति थापाले देशैभरका सैनिक पृतना, बाहिनी, गण, गुल्म र युनिटलाई निर्देशन दिने कार्यक्रम रहेको सैनिक स्रोतले जनाएको छ । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *