
नेपालगन्ज, २५ मङ्सिर – बाँके युनेस्कोद्वारा जिल्लाको बैजनाथ गाउँपालिकाका स्थानीय विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारलाई विभिन्न प्रकारका आयआर्जन सम्बन्धि सहयोग प्रदान गर्न शुरु गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्वारा सो गाउँपालिकामा सञ्चालन गरिएको कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत ६० परिवारलाई उक्त सहयोग प्रदान गरिने क्लबले जनाएको छ ।
सो सहयोगसंगै हरेक परिवारलाई एक एक थान हाईजिन किट पनि वितरण गरिने छ । हरेक किटमा मास्क ५० पिस, २ सेनिटाइजर, १० पिस साबुन, २ काइंयो, ६ वटा टुथ ब्रश र २ टुथ पेष्ट राखिएको छ ।

सोही कार्यक्रम अन्तर्गत यसअघि क्लबले सो गाउँपालिकाका १४३ परिवारलाई विभिन्न प्रकारको आयआर्जन सम्बन्धि सहयोग प्रदान गरेको थियो ।
कोभिड १९ का कारण विभिन्न समस्यामा परेर आर्थिक अवस्था कमजोर भएका बैजनाथ गाउँपालिकाको वडा नम्बर एकदेखि वडा नम्बर ८ सम्मका ६० परिवारलाई किराना पसल, नास्ता पसल, सिलाई कटाई र बाख्रा पालनकालागि सहयोग उपलब्ध गराउन शुरु गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले सो क्रममा विहिबार ९ परिवारलाई आय आर्जनका लागि विभिन्न सहयोग उपलब्ध गराईएको बताउनुभयो ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल र बाँके युनेस्को क्लबका उपाध्यक्ष पञ्चम गुरुंगले विहिबार एक कार्यक्रमका विच ९ परिवारलाई सहयोग वितरण गर्नुभयो ।
सो अवसरमा ४ परिवारलाई किराना पसलका लागि, २ परिवारलाई नास्ता पसलका लागि, २ परिवारलाई सिलाई कटाईका लागि र १ जनालाई आरन व्यवसायका लागि सामाग्री सहयोग गरिएको थियो ।
सामाग्री वितरण गर्दै गाउँपालिकाका अध्यक्ष रुचालले कोभिड १९ का कारण प्रभावित भएका विपन्नको जिवनस्तर उकास्न यो सहयोगले ठुलो मद्दत गर्ने बताउँदै यसलाई राम्ररी सदुपयोग गर्न आग्रह गर्नुभयो ।

उक्त अवसरमा बाँके युनेस्को क्लबका उपाध्यक्ष गुरुंग र कार्यक्रम अधिकृत अनुप बर्माले क्लबले प्रदान गरेको सहयोगबाट आय आर्जनमा ठुलो मद्दत पुग्ने बताएका थिए । उक्त अवसरमा क्लबका कार्यकारी निर्देशक रवि तुलाधरको पनि उपस्थिति रहेको थियो ।
सो कार्यक्रम अन्तर्गत गाउँपालिकाका ४६ परिवारलाई बाख्रापालनका लागि प्रति परिवार ३–३ वटा बाख्रा वितरण गरिने क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।
