Sunday, April 26सत्यम खबर
Shadow

मिश्र र पाण्डेको एकै स्वरः हामी सुद्रियौं, मौका दिनुस्

काठमाडौं, २४ मंसिर – फुटेको २३ महिनापछि विवेकशील नेपाली दल र साझा पार्टी एक भएका छन् । पछिल्लोपटक २०७५ पुसमा तत्कालीन विवेकशील साझाबाट उज्ज्वल थापासहित टोली बाहिरिएर विवेकशील नेपाली दल बनेको थियो ।
यसबीचमा विवेकशीलले अधिवेशन ग¥यो, संयोजक मिलन पाण्डे भए ।
गत वैशाखदेखि नै यी दुई दलबीच एकता गर्ने गरी नजिकिए । एकताप्रति असन्तुष्टि जनाएका दुवै दलका केही नेता एकीकरणमा सहभागी रहेनन् ।
संयोग नै भन्नुपर्छ– भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका दिन बुधबार यी दल पुनर्मिलन गरेका छन् ।

तस्बिर स्रोतः मिलन पाण्डेको फेसबुक ।


पार्टी एकता घोषणा कार्यक्रम भर्चुअल थियो । कोरोना महामारी कायम नै रहेकोले भिडभाड गर्न हुन्न भन्ने सन्देश दिन खोजे जस्तो देखिन्थ्यो ।
पार्टी एकता घोषणा कार्यक्रमको सुरूवात विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले गरेकी थिइन् । दुई पार्टी पुनर्मिलन भएको उनले बताइन् ।
‘हामीहरू मुहान नै सफा गरेर अघि बढ्न सकौं,’ उनले भनिन् ।
यसपछि विवेकशील नेपाली दलका संयोजक मिलन पाण्डेले सम्बोधन गरे । आज बिहान दुई पार्टीका संयोजकबीच भएको हस्ताक्षर कार्यक्रमको भिडिओ प्रस्तुत गर्दै उनले आफ्ना कुरा राखेका थिए ।
‘हामीले जानेरनजानेर तपाईंहरूको मन दुखायौं । पार्टी दुर्घटना भएको २३ महिना भएछ, हिजोका दिनका लागि माफी माग्छौं,’ उनले भने ।
नीतिगत, संरचनागत र व्यवहारिक गल्तीहरू सच्याएर अगाडि बढ्ने पनि उनको भनाइ थियो ।
‘नागरिकको चाहना पूरा गर्ने इमान्दारितापूर्ण प्रयास यहाँहरूले स्वीकार्नु हुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘यो पार्टीलाई वैकल्पिक राजनीतिको केन्द्र बनाउनेछौं ।’
उनले सत्तामा पुगेर ‘डेलिभर’ गर्ने पार्टीका रूपमा विवेकशील साझालाई बनाउने पनि उल्लेख गरेका छन् ।
यसबीचमा नेतृ दर्शनाले दुई पार्टी बीच भएका सहमतिका बुँदा सुनाएकी थिइन् ।
यसपछि बोल्ने पालो साझाका संयोजक रवीन्द्र मिश्रको आयो । मिश्रले पार्टी फुटबाट कोही पनि खुसी नभएको प्रसंगबाट कुरा सुरू गरेका थिए ।
‘अप्ठ्यारो बाटो हिँडिरहेका बेला हामी लड्यौं । लडेकोमा कोही पनि खुसी थिएनौं,’ उनले भने । उनले शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने आफूहरूको एजेन्डा रहेको उल्लेख गरेका छन् ।
‘सुशासन कायम गर्न इमान्दार नेतृत्व सत्तामा नपु¥याए देशको अवस्था परिवर्तन हुँदैन,’ उनले भने । उनले नेकपा र कांग्रेसतर्फ लक्षित गर्दै पुराना पार्टीबाट देश रूपान्तरण हुन नसक्ने दाबी गरेका छन् ।
‘यी पुराना पार्टीले के अबको ३० वर्ष सत्तामा रहिरहे पनि रूपान्तरण गर्न सक्छन् ? विश्वास छ ? सक्दैनन् भने कोही न कोही त चाहियो नि !,’ उनले भने, ‘हामीलाई ठेस लाग्यो, लड्यौं, अब उठेर हिँड्न थालेका छौं ।’
उनले आफूहरू सुद्रेको पनि बताएका थिए ।
‘हामी सुद्रियौं । विगतका गल्ती सच्यायौं,’ उनले भने, ‘हामी आएका छौं, मौका दिनुहोस् ।’
नागरिकले आफूहरूलाई अब पनि साथ नदिने हो भने देशमा भ्रष्टाचारका काण्डहरू भइरहने र बालुवाटार काण्ड गर्नेहरू मन्त्री भइरहने बताएका थिए ।
‘हामी विफल भयौं भने देश सुद्रनेवाला छैन,’ उनले भने, ‘हामी सफल भयौं भने पुराना दललाई सुद्रन बाध्य पार्छौं । हामी विफल भएर कोही पनि हाँस्न पर्दैन ।’ उनले दशदेखि २० वर्षमा देशलाई ट्याकमा ल्याएर रूपान्तरण गर्न सक्ने पनि बताएका थिए ।
संयोजक पाण्डेले छ महिनाभित्र एकता महाधिवेशन गर्ने जानकारी दिए ।
को नेतृत्वमा रहने भन्ने प्रधान विषयबस्तु नरहेको दाबी गरेका उनले छ महिनापछि आफू वा मिश्र एक वा दुबैले नेतृत्व छाडेर नयाँ नेतृत्व आउन सक्ने पनि बताए ।
विवेकशील र साझा मिलेर बनेको विवेकशील साझा पार्टीमा दुबै पार्टीबाट बराबर प्रतिनिधित्व हुने गरी सचिवालय र केन्द्रीय समिति गठन गरिएको छ ।
अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने सहमति छ ।
सचिवालयमा १३ र १३ गरी २६ र केन्द्रीय समितिमा ६५ र ६५ जना गरी कूल १३० जना रहनेछन् ।
पार्टीको केन्द्रीय कार्यालय बखुन्डोल र चुनाव चिन्ह तराजु राख्ने सहमति छ । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *