Thursday, March 12सत्यम खबर
Shadow

कमल थापाले भने– राजा आउ देश बचाउ होइन, जनता आउ देश बचाऊँ भनौं

काठमाडौं, २२ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा उनले स्वःस्फूर्तरूपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताएका हुन् ।
‘राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ देश बचाऔँ भनौं,’ भन्नुप¥यो,’ थापाले भने– उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने बताए । उनले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रहसमेत गरे ।

तस्बिरः कमल थापा


उनले राजसंस्था र हिन्दु राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको दाबी गरे ।
त्यस्तै चुनाव चिन्ह हलो भएकोमा दुःख मनाउ गर्नुपर्ने अवस्था नभएको भन्दै हलोको सामाजिक सांस्कृतिक महत्वबारे चर्चा गरे ।
‘हिन्दु राष्ट्रको नारा बोकेकाले गाई चुनाव चिन्ह चाहे पनि पार्टी एकताका लागि हलो स्वीकार ग¥यौं । हामीले अवलम्बन गरेको हलोको पनि सामाजिक आर्थिक र धार्मिक महत्व छ,’ उनले थपे, ‘हलो भनेको भगवान बलरामको प्रतीक हो । हामीले यो चिन्ह कायम गर्ने सौभाग्य पायौं यसमा आत्मग्लानी गर्नुपर्ने कारण छैन ।’
त्यस्तै, उनले पछिल्लो समय हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै भइरहेको आन्दोलनमा आफ्नो सहयोग र समर्थन रहने बताए । उनले यो आन्दोलनलाई देशका राजनीतिक शक्तिहरु र विदेशीहरुले पनि हेरिरहेको बताउँदै हिन्दुराष्ट्र र राजसंस्थाको मुल संवाहक राप्रपा भएको दाबी गरे ।
यसरी महामारीका बिच नै आन्दोलन सुरु हुनुका तीन कारणसमेत उनले औंल्याए । जसमा उनले हिन्दुराष्ट्र र राजा बाहिरी शक्तिका कारण हटाइएको, जनताले गणतन्त्रको सकारात्मक परिवर्तन महसुस नगरेको र पूर्वराजाको सालिन र सकारात्मक जीवनशैली रहेको दाबी गरे ।

सरकारले सिन्का भाच्न सकेको छैनः पशुपति शम्शेर जबरा
त्यस्तै, अर्का अध्यक्ष पशुपति शमशेर जबराले ‘सरकारले सिन्को पनि नभाँचेको’ आरोप लगाए । ‘मुलुक अहिले नराम्रो अवस्थामा छ । दुई तिहाई सरकार २ वर्षसम्म दिशाहीन उपलब्धिहिन बाटोमा छ । सरकारले सिन्का भाच्न सकेको छैन,’ उनले भने, ‘सरकारसँग केही ठोस बाटो छैन । काण्डको नाम लिन साध्य छैन । स्थायित्वका लागि प्राप्त जनादेशको पनि आपसी कलहमा परेर सरकारले खिल्ली उडायो ।’

तस्बिरः अध्यक्ष पशुपति शमशेर जबरा

राष्ट्रपति एउटा पार्टीमा एउटा गुटः डा. प्रकाशचन्द्र लोहनी
कार्यक्रममा अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारी एउटा पार्टी र त्यसको एउटा समूहको जस्तोमात्र देखिएको आरोप लगाएका छन् । अध्यक्ष लोहनीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदै देशमा संवैधानिक राजतन्त्रको आवश्यकता रहेको औल्याए ।
‘नेपालका लागि, संवैधानिक राजतन्त्रको आवश्यकता छ । स्पेनजस्तो विकसित देशमा दुईपटकको गणतन्त्र पछि आयो। नेपालमा पनि त्यो आवश्यक देखिएको छ,’ अध्यक्ष लोहनीले भने, ‘राष्ट्रपति एउटा पार्टीमा एउटा गुटका भए । सरकारले आफ्नालाई मात्र हे¥यो । ट्रास्परेन्सीले भ्रष्टाचारमा देखाएको सूचक लज्जास्पद छ ।’

तस्बिरः डा. प्रकाशचन्द्र लोहनी


त्यस्तै, पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता लोकेन्द्रबहादुर चन्दले पार्टीले जे निर्णय गर्छ त्यसमा आफ्नो सहमति हुने बताए ।
पार्टीको झण्डोत्तोलन पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गरेका थिए भने चुनाव चिन्ह अध्यक्ष त्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबाट भएको थियो । तीनैजना अध्यक्षले पार्टीको अधिवेसन गर्नुपर्नेमा जोड दिएका थिए । पार्टी एकता पछि राप्रपाले हाल चुनाव चिन्ह हलो र झण्डामा गाई चिन्हको प्रयोग गरेको छ । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *