
काठमाण्डौ, १८ मंसिर – स्वास्थ्य सेवा विभागले कोरोना संक्रमितलाई आफू कोठामा रहँदा हिटर र पंखा नचलाउन सुझाव दिएको छ ।
विभागले पंखा चलाउँदा वा हिटर बाल्दा कोठाभित्र भएको हावा पुनः कोठाभित्रै घुमिरहने भन्दै त्यसो नगर्न सुझाएको हो ।
वैज्ञानिक अध्ययनहरूले कोभिड–१९ को संक्रमण हावाबाट समेत सर्नसक्ने सम्भावना देखाएको भन्दै विभागको संक्रमितलाई उक्त कुराप्रति सचेत रहन आग्रह गरेको छ । साथै, कोठामा बस्दा एयर कन्डिसनको समेत प्रयोग नगर्न भनिएको छ ।

जाडो सुरू भएसँगै मानिसहरूले हिटर बाल्ने वा एसी चलाउने हुँदा त्यसले संक्रमण जोखिम यथावत् रहने भन्दै विभागले सतकर्ता अपनाउन आग्रह गरेको हो ।
विभागले होमआइसोलेसनमा बस्दा संक्रमितले के–के कुरा ख्याल गर्ने भन्नेबारे निर्देशिका जारी गरेको छ । जसअनुसार संक्रमित व्यक्तिले प्रयोग गरेको लत्ताकपडा तथा बेडसेटहरू धुनका लागि तयार गर्दा लुगाहरू नटक्टक्याइ झोलामा राखेर बन्द गर्ने र कोठालाई निसंक्रमण गर्ने भन्दै क्लोरिन पानी नछर्कने भनिएको छ ।
यस्तै, धेरै व्यक्तिहरूले छोइ रहनुपर्ने ढोका, चुकुल, रिमोट, मोबाइल, ट्वाइलेटको फ्लस संक्रमित व्यक्तिले पनि छुनसक्ने भन्दै त्यस्ता सामग्री छुनासाथ तुरून्तै साबुनपानीले हात धुने वा स्यानिटाइजरले सफा गर्न विभागको सुझाव छ ।
