Thursday, May 28सत्यम खबर
Shadow

खजुरामा १५ शैय्या अस्पतालको शिलान्यास

खजुरा, १५ मंसिर – बाँकेको खजुरा गाउँपालिकामा १५ शैय्या अस्पताल निर्माण हुने भएको छ । खजुरा गाउँपालिका वडा नं. ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्ति गर्दै १५ शैय्या अस्पताल निर्माण गर्न लागिएको हो ।


नेपाल सरकार संघको बजेट मार्फत निर्माण हुने खजुरा अस्पतालको बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायले आज सोमवार एक समारोहका वीच शिलान्यास गरेका छन् । १८ करोड ६ लाख रुपैयाँको लागतमा निर्माण हुने अस्पतालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद रोकायले अस्पताल निर्माणमा बजेटलगायतका कुनै पनि समस्या आउन नदिने प्रतिवद्धता जनाए ।


सरकारले सर्वसुलभ स्वास्थ्य उपचारका लागि देशका ३९६ स्थानमा आज एकै पटक शिलान्यास गर्दा बाँकेको खजुरामा पनि १५ शैयाको अस्पतालको शिलान्यास हुनु आफैमा महत्वपूर्ण रहेको बताउँदै सांसद रोकायले लोकतान्त्रिक सरकार जनतालाई सेवा दिन तत्पर रहेको उल्लेख गरे ।
उनले संघीय लोकतान्त्रिक व्यवस्थामा सरकार र जनप्रतिनिधि जनताका इच्छा र चाहना अनुसारका कार्यक्रम लिएर अगाडि बढ्ने गरेको बताउँदै उक्त व्यवस्थाको रक्षा गर्न सबैमा अपील गरे ।


कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरामा निर्माण हुने अस्पताल स्वास्थ्य हब बनाउने लक्ष्यमा कोशेढुंगा सावित भएको बताए ।
उनले नेपाल सरकारले स्वास्थ्यमा आमूल परिवर्तन गर्न एकै पटक ३९६ वटा अस्पताल निर्माण गर्ने कुरा स्वास्थ्य क्षेत्रमा क्रान्ति भएको उल्लेख गरे । कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले पालिकास्तर मै अस्पताल निर्माण शुरु भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *