
नेपालगन्ज, १९ कार्तिक – सामान्य स्वास्थ्य समस्या देखिने बित्तिकै अस्पताल धाउनुपर्ने बाध्यता कम हुँदै गएको छ । स्थानीय सरकारको पहलमा वडास्तर मै स्थापना गरिएका शहरी स्वास्थ्य केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि स्थानीय बासिन्दालाई सहज भएको छ । नेपालगन्ज उपमहानगरपालिका–६ मा रहेको शहरी स्वास्थ्य केन्द्र–६ पनि स्थानीय नागरिकका लागि आधारभूत उपचार तथा स्वास्थ्य परामर्शको भरपर्दो गन्तव्य बन्दै गएको छ ।

स्वास्थ्य केन्द्रमा पछिल्लो समय उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । दैनिक १२ देखि १५ जनासम्म बिरामी स्वास्थ्य परीक्षण तथा उपचारका लागि आउने गरेको केन्द्रमा कार्यरत अनमी बालिकाले जानकारी दिइन् । उनका अनुसार बिरामीको चाप मौसम अनुसार घटबढ हुने गरेको छ । मौसम परिवर्तन हुने समयमा रुघाखोकी, ज्वरो, सामान्य संक्रमणलगायतका स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या बढ्ने गरेको छ ।

स्वास्थ्य केन्द्रमा आउने बिरामी मध्ये महिलाको संख्या उल्लेख्य रहेको छ । दैनिक उपचारका लागि आउने बिरामीमा महिलाको सहभागिता बढ्दै गएको अनमी बालिकाले बताइन् । घरायसी जिम्मेवारी र अन्य कारणले समय मै स्वास्थ्य परीक्षण गराउन नपाउने महिलाहरूलाई वडा मै स्वास्थ्य सेवा उपलब्ध हुँदा सहज भएको छ । सामान्य स्वास्थ्य समस्या देखिँदा टाढाको अस्पताल पुग्नुपर्ने समय र खर्च समेत बचत हुने भएकाले स्थानीय बासिन्दा स्वास्थ्य केन्द्रप्रति आकर्षित हुँदै गएका छन् ।

वडास्तर मै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीय सरकारले प्रत्येक वडामा आधारभूत स्वास्थ्य उपचार केन्द्र स्थापना गर्ने नीति अघि सारेको छ । सोही नीतिअनुसार नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । यस्ता केन्द्रबाट सामान्य स्वास्थ्य परीक्षण, आधारभूत उपचार, स्वास्थ्य परामर्श तथा उपलब्ध औषधि वितरण जस्ता सेवा प्रदान हुँदै आएका छन् ।
सामान्य स्वास्थ्य समस्या हुँदा पनि अस्पतालसम्म पुग्नुपर्ने बाध्यता हटाउने र नागरिकको घरदैलो मै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले यस्ता केन्द्र सञ्चालन गरिएको हो । यसले विशेषगरी आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सहयोग पु¥याएको छ ।
शहरी स्वास्थ्य केन्द्रको प्रभावकारी सञ्चालनका लागि स्थानीय सरकारले वार्षिक बजेटसमेत विनियोजन गर्दै आएको छ । स्वास्थ्य केन्द्र सञ्चालन, आवश्यक औषधि खरिद तथा अन्य व्यवस्थापकीय कामका लागि बजेट छुट्याउने गरिएको छ । यसै क्रममा नेपालगन्ज उपमहानगरपालिका–६ ले शहरी स्वास्थ्य केन्द्र–६ लाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको वडा अध्यक्ष समिरप्रताप सिंहले बताए ।
वडाध्यक्ष सिंहका अनुसार नागरिकलाई सामान्य उपचारका लागि टाढा जानुपर्ने अवस्थाको अन्त्य गर्दै आफ्नै वडामा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु वडाको प्राथमिकतामा रहेको छ । त्यसैले स्वास्थ्य केन्द्रको सञ्चालन र व्यवस्थापनलाई प्राथमिकता दिँदै आवश्यक बजेटको व्यवस्था गरिँदै आएको उनले बताए ।

स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले यसको पहुँच विस्तारसँगै गुणस्तर सुधार पनि उत्तिकै आवश्यक छ । वडामै स्वास्थ्य केन्द्र सञ्चालनमा आउनुले नागरिकलाई उपचारको पहिलो पहुँच सहज बनाएको छ । तर, सेवा प्रभावकारी बनाउन आवश्यक औषधिको नियमित उपलब्धता, दक्ष स्वास्थ्यकर्मीको व्यवस्था, पर्याप्त स्वास्थ्य सामग्री तथा भौतिक पूर्वाधारको सुधारमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।
विशेषगरी महिलाहरूको स्वास्थ्य परीक्षणमा बढ्दो सहभागितालाई अवसरका रूपमा लिएर महिला स्वास्थ्य, प्रजनन स्वास्थ्य, मातृ तथा बाल स्वास्थ्य र नियमित स्वास्थ्य परीक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके स्वास्थ्य केन्द्रको उपयोगिता अझ बढ्न सक्छ ।
स्थानीय तहले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर बजेट तथा व्यवस्थापनमा निरन्तरता दिने हो भने सामान्य उपचारका लागि ठूला अस्पताल धाउनुपर्ने बाध्यता थप कम हुन सक्छ । शहरी स्वास्थ्य केन्द्र–६ मा दैनिक बढ्दै गएको बिरामीको उपस्थितिले पनि वडास्तरमा आधारभूत स्वास्थ्य सेवा विस्तारको आवश्यकता र महत्वलाई स्पष्ट पारेको छ ।
