Tuesday, November 3सत्यम खबर
Shadow

पोषण, शिक्षा, स्वास्थ्य र बालमैत्री शासनलाई प्राथमिकताÙ थप १ हजार २५० बालबालिकालाई परियोजनामा समेट्ने तयारी

नेपालगन्ज, १७ कार्तिक – सामाजिक विकास मञ्च -एसडिएफ) बाँके र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित हातेमालो परियोजनाको जानकी गाउँपालिकामा परियोजना शुभारम्भ बैठक आज सम्पन्न भएको छ । बाँकेको जानकी गाउँपालिकामा सञ्चालन भइरहेको परियोजनाले बालबालिकाको समग्र विकास, संरक्षण र समृद्धिलाई केन्द्रमा राखेर विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

बैठकमा परियोजनाको परिचय, प्रमुख उपलब्धि तथा कार्ययोजनाबारे सामाजिक विकास मञ्च बाँकेका कार्यक्रम प्रबन्धक भीमबहादुर सार्कीले प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँका अनुसार परियोजनाले जानकी गाउँपालिकामा पोषण, शिक्षा, स्वास्थ्य, बालमैत्री शासन तथा अनुगमनलगायतका क्षेत्रमा काम गर्दै आएको छ । परियोजनाको कुल बजेट ३ करोड २६ लाख रुपैयाँ रहेको जानकारी पनि उहाँले दिनुभयो ।

प्रबन्धक सार्कीका अनुसार हाल जानकी गाउँपालिकामा परियोजनाअन्तर्गत १ हजार २५० जना आरसी -प्रायोजित) बालबालिका आबद्ध छन् । आगामी दिनमा थप १ हजार २५० जना बालबालिकालाई परियोजनामा समेट्ने तयारी भइरहेको छ उहाँले जानकारी गराउनुभयो । बालबालिकाको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै परियोजनाका गतिविधिलाई थप प्रभावकारी बनाइने उहाँले बताउनुभयो ।

कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले सामाजिक विकास मञ्च र वल्र्ड भिजनको कार्यक्रमलाई पालिकाकै आफ्नै कार्यक्रमका रूपमा आत्मसात् गर्दै सफल बनाउन सबै पक्ष सक्रिय हुनुपर्ने बताउनुभयो । परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार र साझेदार संस्थाबीच सहकार्य तथा समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसीले परियोजनाको उद्देश्य, कार्यक्षेत्र, बैठकमा आएका जिज्ञासाहरुको उत्तर दिनु भएको थियो । परियोजनामा अपेक्षित उपलब्धिबारे समेत संयोजक केसीले प्रकाश पार्नुभएको थियो ।
जानकी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहले अपाङ्गता भएका बालबालिकालाई विशेष प्राथमिकतामा राखेर सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । लक्षित वर्गका बालबालिकाको वास्तविक आवश्यकता पहिचान गरी उनीहरूलाई परियोजनामा जोड्न सके कार्यक्रम अझ प्रभावकारी हुने उहाँको भनाइ थियो ।

त्यसैगरी सामाजिक विकास शाखा प्रमुख रामअचल धोबीले परियोजनाको पहुँचबाट बाहिर रहेका तथा छुटेका बालबालिकालाई समेत समेट्नुपर्नेमा जोड दिनुभयो । सहभागीहरूले क्षमता विकास, मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्य, विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान तथा उनीहरूलाई शिक्षाको मूलधारमा ल्याउने कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए ।

परियोजनाले बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा मात्र सीमित नभई उनीहरूको मानसिक स्वास्थ्य, संरक्षण र समग्र व्यक्तित्व विकासमा समेत ध्यान दिनुपर्ने सहभागीहरूको धारणा थियो । स्थानीय आवश्यकता पहिचान गरेर परामर्श तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न सके परियोजनाको प्रभावकारिता र उपलब्धि अझ बढ्ने उनीहरूले बताएका थिए ।

कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, सामाजिक विकास शाखा प्रमुख रामअचल धोबी, महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाह, सामाजिक विकास मञ्च बाँकेका अध्यक्ष चम्पसिंह थापा, वल्र्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक तिलक केसीलगायतको सहभागिता रहेको थियो ।

त्यस्तै सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, अनुगमन अधिकृत अमृत विष्ट, नेपाल पत्रकार महासंघ बाँके शाखाका सहसचिव भगतराम थारु, प्रहरी प्रतिनिधि, पालिकास्तरीय बाल क्लबका पदाधिकारी, विभिन्न विषयगत शाखाका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *