
नेपालगन्ज, १३ मंसिर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनु भएको छ ।
नेपाली काँग्रेसको नेपाल लोकतान्त्रिक खेलकुद केन्द्रीय खेलकुद विभागले शुक्रबार नेपालगन्जमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमलाई सम्वोधन गर्दै जनताको म्यान्डेट पाएको सरकार भ्रष्टचारमा लिप्त हुनु मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।
‘जनतालाई विकास र सम्बृद्धिको आशा जगाएको सरकार अहिले भ्रष्टचारमा उन्मुक्त भएको छ’ उहाँले भन्नुभयो– ‘अर्को चुनावले यसको हिसाव किताव दिने छ ।’ उहाँले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा भूमिका नखेलेकोमा आक्रोस पोख्नुभयो ।
लकडाउनका कारण ठूलो संख्यामा भित्रिएका नेपाली अहिले वेराजगार भएर फेरि विदेश पस्नु सरकारको नालायकीपन भएको टिप्पणी गर्नुभयो । ‘ज्यानको जोखिम मोलेर अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका युवाहरु भारत गइरहेको सुन्दा मुलुकमा सरकार नभएको अनुभुति भएको छ’ उहाँले भन्नुभयो ।

दुई तिहाइको दम्भ देखाएर जनतालाई दुख नदिन पनि उहाँले चेतावनी दिनुभएको छ । ‘परिस्थिति एकै हुँदैन’ उहाँले भन्नुभयो–‘जन्म कुण्डली हेरेर बस्न नपरोस् ।’ नागरिकको जीवन रक्षाका लागि सरकार उदांगो बनेको उहाँको आरोप छ । दैनिक हिंसा, हत्या र बलात्कारका घटना भइरहँदा समेत सरकार मौनतामा उभिएको उहाँको भनाइ छ ।
काँग्रेस सधैव नागरिकको दुखमा साथ दिने पार्टी भएको उहाँको भनाइ छ । कोरोना भाइरस महामारीकाबीच काँग्रेसले अहिले रगत अभावमा नागरिकहरुले ज्यान गुमाउन नपरोस् भनेर देश व्यापी रक्तदान कार्यक्रम गर्दै हिडेको उहाँको भनाइ छ । नेपाल लोकतान्त्रिक खेलकुदका केन्द्रीय सदस्य शान्ति सिंहको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सभापति किरण कोइराला, क्षेत्रीय सभापति रमेश गुप्तालगायतले बोल्नुभएको थियो ।
क्षेत्रीय खेलुकद विकास समितिका पूर्वअध्यक्ष नरेन्द्र थापाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजिकरण काँग्रेस युवा नेता भुम भण्डारीले गर्नुभएको थियो ।
काँग्रेसको रक्तदान
कोराना महामारीका बेला रगतको अभाव देखिएपछि नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाली काँग्रेस खेलकुद बिभाग र नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
विभागका प्रमुख समेत रहनुभएका काँग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । रक्त संचार केन्द्र नेपालगन्जको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ६३ जनाले रक्तदान गरेका थिए ।
कोरोना भाइरस महामारीमा रगत अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान गरिएको कार्यक्रम सह–संयोजक थापाले जानकारी दिनुभयो । संघकी केन्द्रिय सदस्य शान्ति सिंहको सभापतित्वमा भएको कार्यक्रममा नेपालमै सबै भन्दा धेरै पटक रक्तदान गर्नुभएका नेपालगन्जका गोपीनाथ बैश्यलाई कदरपत्रले सम्मान समेत गरिएको छ ।
