
डुडुवा, १० मंसिर – बाँकेको डुडुवा गाउँपालिकामा बुधबार विभिन्न पार्टीका साढे तीनसय बढी नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन ।

नेपाली काँग्रेस, जसपा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका साढे ३ सय बढी नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको नेकपा डुडुवा गाउँपालिका अध्यक्ष शकिल खानले जानकारी गराउनुभयो ।
जसपाका जिल्ला कमिटी सदस्य सतिउल्ला बागवान, कार्यकर्ता अनवर खाँ, नेपाली काँग्रेसका निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय कमिटी सदस्य कैयुम खाँ, कार्यकर्ताहरु गरिबे खाँ, रहमान खाँ, राप्रपाका बिनयराज त्रिपाठी लगायत साढे ३ सय बढी कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको अध्यक्ष शकिल खानले बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डुडुवा गाउँपालिकाले बुधबार दशै, तिहार, नेपाल सम्बत, मोहम्मद डे तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद महेश्वर गहतराज ‘अथक’ ले नवप्रवेशीहरुलाई अबिर तथा माला लगाइ दिएर स्वागत गरेका थिए ।

कार्यक्रममा संघीय सांसद महेश्वर गहतराज ‘अथक’, नेकपाका केन्द्रिय सदस्य तथा मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय संयोजक सेराज फारुकी, केन्द्रिय सदस्य मोहम्मद हारुन हल्वाई, हज कमिटीका पुर्व अध्यक्ष ताज मोहम्मद, लुम्बिनी प्रदेशका कृषि तथा भुमिसुधार मन्त्री आरती पौडेल, नेकपाका जिल्ला सचिब असोक कोइराला लगायतका जिल्लाका नेताहरुले शुभकामना व्यक्त गरेका थिए ।
डुडुवा गाउँपालिका वडा नम्बर ३ स्थित हलबलडोलीमा सम्पन्न उक्त कार्यक्रम महेन्द्र शाहीले संचालन गरेका थिए भने नेकपा डुडुवा गाउँपालिकाका अध्यक्ष शकिल खानको अध्यक्षतामा सम्पन्न भएको थियो ।
