Tuesday, August 11सत्यम खबर
Shadow

महिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउन सक्रिय नारी विकास केन्द्रबाट मनोपरामर्श सेवा दिंदै

नेपालगन्ज, २६ साउन – नारी विकास केन्द्रले आफ्नो ५१ औं वार्षिक साधारण सभा विगतका क्रियाकलापहरुको समीक्षा र आगामी वर्षको कार्ययोजना पारित गर्दै यहाँ सम्पन्न भएको छ ।

नारी विकास केन्द्रकी अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठको अध्यक्षतामा वरिष्ठ समाजसेवी तथा केन्द्रकी सल्लाहकार सुश्री शान्ति श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सभामा केन्द्रकी सहसचिव सपना राणाले २०८० साल साउनदेखि केन्द्रले सञ्चालन गरेका विभिन्न रचनात्मक गतिविधिहरु प्रस्तुत गर्नुभयो ।

सो सभामा केन्द्रकी कोषाध्यक्ष रचना श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उपाध्यक्ष जागृति महिला सेलकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेपाल बाल संगठन बाँकेका अध्यक्ष दत्त प्रसाद आचार्य, नेपाल परिवार नियोजन संघकी रश्मी श्रेष्ठ लगायतले नारी विकास केन्द्रले गरेको क्रियाकलापहरुको प्रशंसा गरेका थिए ।

केन्द्रको सोमबार सम्पन्न बैठक तथा स्वागत कार्यक्रममा दुई जना सल्लाहकार र नयाँ सदस्यहरुलाई स्वागत गर्दै साधारणसभामा प्रस्तुत गतिविधि माथि समीक्षा गरियो । केन्द्रद्वारा मनोनित सल्लाहकारमा वरिष्ठ पत्रकार पूर्ण लाल चुके र अधिवक्ता दुर्गा खड्का तथा नवमनोनित सदस्यमा नौसाद नाज अन्सारी र कमला चौधरीलाई अध्यक्ष मीना श्रेष्ठले खादा ओढाएर स्वागत गर्नु भयो ।

शुक्रबार सम्पन्न साधारणसभामा सहसचिव राणाले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा २०३२ सालमा स्थापना भएको केन्द्रले हालसम्म हजारौं महिलाहरुलाई आत्मनिर्भर गराउने तालिम मार्पत् सीप प्रदान गर्दै हरेक चुनौतीसँग लड्न सक्षम बनाएको बताउँदै नारी एक शक्ति हो, त्यो शक्ति जसले हरेक बाधामा भान्सादेखि देश चलाउन सक्ने सक्षम बनाएका छौं, त्यसैले हामी पुरुष भन्दा पछाडि छैनौं भन्ने उल्लेख गरिएको छ ।

उहाँले भन्नुभयो– नारी विकास केन्द्रको संस्थागत विकास तथा संस्थाहरुको हकहितका लागि वकालत लक्षित वर्गका महिला किशोरीहरुको क्षमता अभिवृद्धि गरिएको, महिलाहरुको स्थानीय शासन प्रवद्र्धन गर्नका लागि स्थानीय स्तरमा वकालत तथा पैरवी गरिएको, संस्थागत साझेदारी तथा केन्द्र वीच कार्यक्रमको आयोजना गरिएको, लुम्बिनी प्रदेश सरकार पर्यटन डिभिजन कार्यालय कोहलपुरको सहयोगमा केन्द्रको जायोजनामा वार्ड नं २ र ५ का महिलाहरुलाई ब्युटिसियन तालिम दिइएको, नेपालगन्ज–५ को सहयोगमा गर्भवती महिलाहरुको मागमा आधारित ५२ जनालाई पौष्टिक आहार तथा कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको, नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा १ महिने आधारभूत सिलाई कटाई तालिम सम्पन्न गरियो ।

त्यसैगरि द मदर फाउन्डेसनको आयोजना सम्पन्न अन्तर्राष्टिूय इस्लामी कला प्रदर्शनी कार्यक्रममा समन्वयकारी भूमिका निर्वाह गरेको, पर्यटन डिभिजन कार्यालयको आयोजना र केन्द्रको समन्वयमा २५ जना महिलालाई ३ दिने कागजको धुप बनाउने तालिम, २५ जना महिलालाई ५ दिने अचार बनाउने तालिम, नेपालगन्ज उपमहानगरपालिका–२ मा ४५ दिने ब्युटिसियन तालिम सम्पन्न गरिएको, नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामा रहेका महिलाहरूको लागि निःशुल्क पाठेघरको मुखको क्यान्सर चेक जाँच गराउने कार्यक्रममा समन्वय गरेको सहसचिव राणाले बताउनु भयो ।

गत साउन महिनामा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री जन्मञ्जय तिमिल्सीनाको प्रमुख आतिथ्यमा स्वर्ण जयन्ती भव्य रुपमा मनाएको केन्द्रले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस मनाएको, राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा महिला विरुद्धका सबै प्रकारका विभेद असमानता तथा हिंसाको अन्त्य गरौं, समानुपातिक समावेशी र समानतामूलक समाज निर्माण गर्ने मूल नाराका साथ आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइएको सहसचिव राणाले जानकारी दिनुभयो ।

त्यसैगरि केन्द्रले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका कार्यक्रमहरूमा सहभागी भएको केन्द्रले हरेक वर्ष नारीहरुको महान पर्व तिजको अवसरमा शुभकामना आदान प्रदान तथा महिलाहरुलाई दर खाने कार्यक्रम गर्दै आएकोछ ।

सहसचिव राणाले आगामी योजना प्रस्तुत गर्दै सदस्यहरुको क्षमता अभिवृद्धि तालिम तथा विभिन्न रचनात्मक कार्यक्रम गर्ने, केन्द्रले अन्य संघ संस्थाहरुसँग सहकार्य र साझेदारी व्यापक गर्ने, किशोरीहरु लक्षित स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने, लक्षित वर्गका महिलाहरुलाई सीपमूलक कार्यक्रमहरु निरन्तर सञ्चालन गर्ने, संस्थाको विकासको लागि सम्बन्धित निकायहरुसँग साझेदारी गरी महिला उद्यमीहरुले उत्पादन गरेको सामाग्रीहरुको बिक्री वितरण गर्नका लागि मेला, महोत्सव सञ्चालन गने, बाँके जिल्लाको आठ वटा पालिकामा मानसिक स्वास्थ्य साक्षरता तथा सचेतनामूलक कार्यक्रम सञ्चलन गर्ने, महिलामैत्री स्थानीय शासन वकालतमा निरन्तर काम गर्ने, जोखिममा रहेका महिला बालबालिका जेष्ठ नागरिकहरूको उद्धार कार्यमा निरन्तर काम गर्ने लगायत योजनामा राखिएका छन् ।

मनोपरामर्श सेवा सञ्चालनमा : नारी विकास केन्द्रद्वारा साधारणसभाको दिन मनोपरामर्श सेवाको शुभारम्भ पनि गरेको छ । केन्द्रकी अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ र वरिष्ठ समाजसेवी तथा केन्द्रकी सल्लाहकार सुश्री शान्ति श्रेष्ठले मनोपरामर्श सेवाको रिवन काटेर उद्घाटन गर्नु भएको थियो । महिलाहरुलाई लक्षित गरी स्थापना गरिएको मनोपरामर्श सेवा नारी विकास केन्द्रका मनोनित सदस्य परामर्शदाता नौसाद नाज अन्सारीले नियमित परामर्श सेवा दिने जानकारी कार्यवाहक अध्यक्ष शीला शाहले दिनुभयो । उक्त मनोपरामर्श सेवा नारी विकास केन्द्रकै एउटा कोठामा सञ्चालन गरिएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *