
नेपालगन्ज, ४ श्रावण – नेपाल दशनामी समाज बाँकेको सम्पर्क कार्यालय नेपालगन्जको कारकाँदोमा कार्यालयको उद्घाटन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१८ नेपाल दशनामी समाज बाँकेको सम्पर्क कार्यालय नेपालगन्जको केन्द्रीय सल्लाहकार केशर गिरीले एक समारोह बीच कार्यालयको उद्घाटन गर्नुभयो ।
उद्घाटनको क्रममा बोल्दै केन्द्रीय सल्लाहकार केशर गिरीले नेपाल दशनामी समाज बाँकेको नवनिर्वाचित कार्यसमितिले समाजको हितमा सिर्जनात्मक र प्रभावकारी काम गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा होमनाथ गिरीले देशभर छरिएर रहेका दशनामी समुदायको पहिचान, अधिकार र सशक्तीकरणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, नेपाल दशनामी समाज बाँकेका निवर्तमान अध्यक्ष गोपाल गिरीले वर्तमान कार्य समितिलाई सामाजिक सेवामा सक्रियतापूर्वक समय खर्चन सुझाव दिनुभयो । समाजकी सल्लाहकार सावित्री गिरीले सबै दशनामी समुदाय सेवाभावका साथ एकीकृत भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष पूर्णदेव गिरीले सम्पर्क कार्यालय सञ्चालनमा आएपछि समाजका गतिविधि सञ्चालन गर्न सहज हुने बताउँदै समाजको आफ्नै भवन निर्माणका लागि पहल थालिने जानकारी दिनुभएको थियो ।
उहाँका अनुसार आगामी साउन २५ गते सोमवार महाआरती कार्यक्रम आयोजना गरिनेछ । सो अवसरमा प्रसाद स्वरूप फलफूलका बिरुवा वितरण गरिनेछ । त्यसैगरी साउन ३० गते शनिवार बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने भएकोले सम्पूर्ण दशनामी समुदाय तथा शुभेच्छुकलाई सहभागिताका लागि आग्रह गर्नुभयो छ ।
यसैबीच, शनिवार बसेको नेपाल दशनामी समाज बाँकेको सल्लाहकार सहितको बैठकले महाआरती, बिरुवा वितरण तथा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको अध्यक्ष पूर्णदेव गिरीले जानकारी दिनुभएको छ ।
