Tuesday, June 9सत्यम खबर
Shadow

कर्बलाको नाममा सार्वजनिक पोखरी कब्जा

नेपालगन्ज, २६ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको २१० कट्ठा जग्गामा फैलिएको पोखरीलाई कर्बलाको नाममा कब्जा गर्न लामो समयदेखि प्रयास जारी रहेकै बेला नरैनापुर वडा नं. १ कटकुईया गाउँको दक्षिण तिर रहेको करीव २ विगाहा जग्गामा फैलिएको सरकारी पोखरी २०८३/२/२१ गते कब्जा गरिएको छ ।

प्राप्त जानकारी अनुसार नरैनापुर वडा नं. १ का वडा अध्यक्ष ईशाक जोलाहको मिलोमत्तो एवं निर्देशनमा वडा नं. १ महानितिया गाउँ बस्ने नूरमोहम्मद शाहको अध्यक्षतामा हुसैनी कर्बला महानितिया संचालक समिति बनाई २०८३/२/२१ गते उक्त संचालक समितिको नामावली सहितको बोर्ड पोखरीमा गाडेरकब्जा गरिएको हो ।

वडा अध्यक्ष ईशाक जोलाहले नरैनापुर वडा नं. १ मा रहेका सबै जग्गा प्रायः कब्जा गरिसकेको स्रोतको दावी रहेको छ । वडा अध्यक्ष ईशाक जोलाहले कब्रिस्तानको नाममा र ईदगाहको नाममा धेरै एलानी सरकारी जग्गा कब्जा गरीसकेको र गर्ने क्रम जारी नै छ । नरैनापुर वडा नं.१ मा लगभग १–०–० विगाह जग्गामा अवस्थित हिन्दु धार्मिक स्थल सुरदास कुट्टीलाई ४ बर्ष अगाडी कब्जा गरी मजारको स्थापना गरेका छन् ।

विधालय भवन बनाउने भनी नरैनापुर–१ मा रहेको करीब १० कट्ठा जग्गामा रहेको पोखरीलाई बडाअध्यक्ष ईशाक जोलाहले गतबर्ष कब्जा गर्न लाग्दा उच्च अदालत नेपालगन्ज इजलाशले सार्वजनिक पोखरी कब्जा गर्न रोक लगाएपछि उक्त पोखरी कब्जा गर्न असफल भएका थिए ।

नेपाल सरकारको अनुमति विना सरकारी/सार्वजनिक जग्गामा कुनै निजि वा सरकारी भवन/ संरचना निर्माण गर्न नसकिने भए पनि नरैनापुर गाउँपालिकामा सरकारी जग्गा कब्जा गर्न सामान्य रहेको छ । अरुको कुरै नगरौं नेपाल सरकारको अनुमति बिना नै नरैनापुर गाउँपालिकाको भवन नै सार्वजनिक पोखरीमा नै निर्माण गरिएको छ ।

नेपाल सरकारको स्थानीय प्रशासनिक कार्यालय र स्थानीय सरकारको सार्वजनिक /सरकारी सम्पत्तिको संरक्षणको दायित्व रहेको कानुनी प्रावधान रहे पनि नरैनापुर गाउँपालिकाले आफै सरकारी पोखरी कब्जा गरे पछि अन्य सरकारी जग्गाको संरक्षण नै गर्न नसक्ने अवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *