Wednesday, April 22सत्यम खबर
Shadow

अन्तरालद्वारा ‘विटनेश अफ टाइम’ प्रदर्शनी आयोजना गरिने

नेपालगन्ज, ९ बैशाख – अन्तरालको आयोजना तथा व्यवस्थापनमा पत्रकार/फोटोग्राफर जयनारायण शाहले खिचेका फोटोहरुको ‘विटनेश अफ टाइम’ शीर्षकमा एकल फोटो प्रदर्शनी आयोजना हुने भएको छ ।

आगामी जेठ ११ र १२ गते नेपालगन्जमा हुने उक्त प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका महत्वपूर्ण क्षणहरूलाई फोटोको माध्यमबाट प्रस्तुत गरिनेछ ।

‘विटनेश अफ टाइम’ प्रदर्शनीले समयको साक्षी वनेका दृश्य, पात्र, नेपाली समाज, भेषभूषा, संस्कृति, दैनिक जीवन र प्रकृतिलाई तस्वीर मार्फत उजागर गर्ने उद्देश्य लिएको छ । प्रदर्शनीमा राखिएका तस्वीरहरूले दर्शकलाई मानव सभ्यता र प्रकृतिका विविध आयाम अनुभव गराउने विश्वाश छ ।

‘कहिलेकाहीँ क्षणहरू केवल स्मृति मात्र हुँदैनन्, तिनीहरू इतिहास बन्छन्’ पत्रकार । फोटोग्राफर जयनारायण शाह भन्छन् – ‘तिनै क्षणहरूलाई जिवन्त राख्ने प्रयास यो फोटो प्रदर्शनी हो ।’

गएको डेढ दशकमा मूलुकले विभिन्न घटनाक्रम बेहोर्नु पर्यो । राजनीतिक परिदृश्यहरु फेरिए । यस क्रममा धेरै आन्दोलन र झडपहरु भए । भुकम्प, नाकाबन्दी, कोभिड महामारी र लकडाउनले आम जनजीवन अत्यन्त कष्टप्रद रह्यो । यो सवै कालखण्डका तस्वीरहरु फोटोग्राफर शाहले खिचेका छन् ।

‘यात्राका दौरान जहाँ –जहाँ पुगें त्यो ठाउँको जनजीवन, रहन सहन, भेषभूषा, बस्ती, प्रकृति, फूलहरु, सुन्दर दृश्यहरु , पदयात्रामा भेटिएका मानिसहरुका तस्वीरहरु मैले क्यामेरामा कैद गरें’ – पत्रकार शाह भन्छन् – ‘प्रदर्शनीवाट अब यी तस्वीरहरु साझा गर्दैछुँ ।’

यस प्रदर्शनीमार्फत नयाँ पुस्तामा फोटोग्राफीप्रति रुचि अभिवृद्धि गर्नुका साथै समाजको जिवन्त तस्वीर प्रस्तुत गर्ने लक्ष्य राखिएको आयोजक अन्तरालले जनाएको छ ।

समय, समाज र स्मृतिको कथा बोकेका यी तस्वीरहरू अवलोकन गर्न सम्पूर्ण कलाप्रेमी, विद्यार्थी सञ्चारकर्मी तथा आम सर्वसाधारणलाई आयोजक अन्तरालले आमन्त्रण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *