
नेपालगन्ज, ९ चैत्र – दुई दिनसम्म परेको बेमौसमी वर्षाले करीब ९ करोड बराबरको काँचो ईटामा क्षति पुगेको बताईएको छ ।
ईटा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर ओलीले हरेक वर्ष बेमौसमी वर्षाको चपेटामा परेर जिल्लाका उद्योगीहरुले ठूलो क्षति बेहोर्नु परेको तितो सत्य रहेको बताए । उनले सरकारले काँचो ईटाको बिमा पनि नगर्ने र क्षतिपूर्ति पनि नदिने हुँदा व्यवसायीलाई ठूलो मर्का परेको तथा उक्त नोक्सानीले गर्दा बैंकको ऋण तिर्न समेत समस्या पर्ने बताए ।
ईटा उद्योग व्यवसायी संघ बाँकेका कार्यालय सचिव सूर्यमणि पौडेलका अनुसार २०८२ चैत्र ६ र ७ गते -शुक्रबार, शनिबार) परेको बेमौसमी वर्षा र हावाहुरीका कारण बाँके जिल्लाका ६० बढी इँटा उद्योगमा पकाउनको लागी तयार पारिएको ३ करोड काँचो ईट्टा गलेर नस्ट भएको बताए ।
उनले उत्पादनको अन्तिम चरणमा रहेका करोडौँ इँटा गलेर काम नलाग्ने बनेका छन् भने पकाउन तयार पारिएको प्रति ईट्टाको लागत मुल्य लगभग ३ रुपैयाँ पर्न जान्छ । यसरी बाँके जिल्लामा मात्र ९ करोड मुल्य बराबरको ईट्टा गलेर नष्ट भएको बताए ।
उनले उद्योगमा क्षति पुगेपछि यतिबेला उद्योगी समस्यामा परेका छन् । काँचो इँटाको बिमा गर्ने नीति नभएका कारण क्षति भएको अवस्थामा पनि भुक्तानी पाउने कुनै आधार नरहेको हुँदा ईट्टा उधोगीहरु मर्कामा परेको बताए ।

राम ईटा उद्योग कोहलपुरका सञ्चालक बिनोद जयसवालका अनुसार ईटा उद्योगमा बेमौसमी वर्षाका कारण शुरुवाती चरणमा मात्र करीब १० लाख बढी काँचो ईटा नष्ट भएको बताए । उनले काँचो ईटा तयारी खर्च मात्र जोड्दा करीब ३ रुपैयाँ पर्ने भएको हुँदा करीब ३० लाख रुपैया बराबर नोक्सानी भएको अनुमान रहेको बताए । नोक्सान भएको ईटा मध्ये कति पय काम नलाग्ने अवस्थामा रहेका छन् भने कतिपय काम लाग्न सक्छन् त्यो भने छुट्टयाउन बाँकी रहेको बताए ।
श्रद्धा ईटा उद्योगका सञ्चालक सुधिरप्रताप सिंहका अनुसार यस पटकको वर्षामा बाँके जिल्लामा सञ्चालनमा रहेका ६० बढी उद्योगहरुमा बेमौसमी वर्षाले काँचो ईटा नोक्सानी भएको बताए । श्रद्धा ईटा उद्योगमा पहिलेबाटै सुरक्षित राखिएको हुँदा खासै नोक्सानी नभएको बताए ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ पुरैनामा रहेको बागेश्वरी ईटा उद्योगका सञ्चालक केशव भण्डारीका अनुसार करीब ८ लाख ईटा बेमौसमी वर्षाका कारण नोक्सानी भएको बताउँछन् ।
