Wednesday, December 24सत्यम खबर
Shadow

सिक्टा सिँचाइ अन्तर्गतको डुडुवा नहर पुनर्निमाण सुरु, किसानहरुमा उत्साह

नेपालगन्ज ११ (मंसिर) – लामो समयदेखि अलपत्र बनेको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको डुडुवा नहर यस बर्षको कार्तिकदेखि पुनः मर्मत कार्य सुरु भएको छ । तीन वर्षे योजना अनुसार सुरु गरिएको मर्मत तथा पुनर्निर्माण कार्य रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रा.लिले १ अर्ब १२ करोड बढी लागतमा जिम्मा लिएको हो । सोही रकममा १८ किलोमिटर नहर मर्मत तथा पुनः निर्माण गरिने आयोजना कार्यालयका ईन्जिनियर नविन पौडेलले जारकारी दिए ।

डुडुवा नहर, जो पश्चिमी बाँके क्षेत्रका हजारौं किसानका लागि मुख्य सिँचाइ स्रोतका रूपमा रहेको छ, विगत केही वर्षदेखि अधुरो, क्षतिग्रस्त र उपयोग विहीन बनेपछि किसानहरू पानी अभावले वर्षेनी समस्या झेल्न बाध्य भएका
थिए । डुडुवा नहर निर्माणको पहिलो ठेक्का सम्झौता २०७३ असार १२ गते गरिएको थियो । उक्त सम्झौता अनुसार ९८ करोड ८१ लाखको लागतमा नहर निर्माण २०७५ पुस ४ भित्र सक्ने योजना थियो । तर निर्माण व्यवसायी र आयोजना बीच विवाद उत्पन्न भएपछि २०७४ चैत २८ देखि निर्माण कार्य पूर्ण रूपमा रोकिएको आयोजना निर्देशक राजु आचर्याले जानकारी दिए ।

यसपछि कानुनी विवाद, प्राविधिक समस्या र व्यवस्थापकीय कमजोरीका कारण परियोजना वर्षौंदेखि अधुरो रहँदै आएको थियो । किसान र स्थानीय तहले बारम्बार दबाब दिए पनि निर्माण अघि बढ्न सकेको थिएन । सिक्टा सिँचाइ आयोजना सरकारद्वारा २०६२÷०६३ मा प्रारम्भिक लागत १२ अर्ब ८ करोड लागतमा सुरु गरिएको थियो । तर डिजाइन संशोधन, निर्माण ढिलाइ र बजेटीय समस्याका कारण परियोजनाको लागत पछिल्लो संशोधनमा २५ अर्बभन्दा माथि पुगेको छ ।

पहिलो ठेक्का रद्द हुना साथ डुडुवा नहर छ वर्षभन्दा बढी समयसम्म पूर्ण रूपमा अलपत्र रहेयो । नहरको ढलान समस्या, संरचनागत क्षति र पानी प्रवाह अवरुद्ध भएपछि यसले कूल सिँचाइ क्षेत्रमा गम्भीर प्रभाव पारेको थियो । २०७९ पछि सरकारी पुनरावलोकनसँगै डुडुवा नहरलाई नयाँ प्याकेजमा राखेर फेरि ठेक्का प्रक्रिया अघि बढाइएको थियो ।

डुडुवा नहरको नयाँ टेन्डर १ अर्ब १२ करोडमा १८ किमि मर्मत, थप प्याकेज १ अर्ब ३८ करोडमा भएको छ । जसमा आयोजनाले डुडुवा नहरका लागि दुई मुख्य प्याकेज आह्वान गरेको थियो । पहिलो प्याकेज २५ किलोमिटर नहर, लागत १ अर्ब ३८ करोड ४५ लाख र दोस्रो प्याकेज १८ किलोमिटर नहर, लागत १ अर्ब १२ करोड ७२ लाख राखेको छ । यीमध्ये १८ किमि पुनर्निर्माणको जिम्मा हाल रामेछाप शेर्पा कन्स्ट्रक्सनले पाएको हो ।

डुडुवा नहर सञ्चालनमा आएपछि बाँकेका करिब १६ हजार हेक्टर खेतबारीमा बाह्रै महिना सिँचाइ उपलब्ध हुने अपेक्षा गरिएको छ । स्थानीय किसानहरू विशेष गरी धान, गहुँ र मकै खेतीमा उत्पादन वृद्धि हुनेमा आशावादी छन् । लामो समयदेखि “पानी अभाव” सहँदै आएका डुडुवा, खजुरा नेपालगन्ज, जानकी क्षेत्रका किसानहरूको समस्या समाधान हुने विश्वास गरिएको छ ।

सिक्टा सिँचाइ आयोजनाका इन्जिनियरहरूले वर्तमान ठेक्का ‘तीन वर्षे योजना’ अनुसार समय मै सम्पन्न भए डुडुवा नहरको मुख्य संरचना, ढलान, बाँध, शाखा–उपशाखा सुधार हुँदै आगामी वर्षदेखि नियमित पानी प्रवाह सम्भव हुने अनुमान गरेका छन् ।

किसानहरू भने यसपटक काम अलपत्र नपरोस् भन्ने अपेक्षा राखिरहेका छन् । विगतमा पटक–पटक निर्माण रोकिने, ढिलाइ हुने र नहर कमजोर डिजाइनले पटक–पटक भत्किने समस्या दोहोरिएको भन्दै उनीहरूले कडाइका साथ अनुगमन गर्न सरकारलाई आग्रह गरेका डुडुवा गाउँपालिकाका किसान मोहन वर्माले जिकिर गरे ।

डुडुवा नहर पुन निर्माण शुरु भए सँगै किसानहरुमा आशा पलाएको छ । नेपालगन्ज र डुडुवा किसानहरु बह्रै महिना तरकारी खेती गरेर जिविको पार्जन गर्दै आइरहेको छन् । बर्षे र हिउँदे सिजनमा धाराबाट पानी आए पनि बैशाख महिनामा पानी नआउने कारणले राम्रो आम्दानी गर्न सकिरहेको थिएनन् । नहर पुन निर्माण भए सँगै किसानहरुमा थप उर्जा समेत थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *