Sunday, September 28सत्यम खबर
Shadow

“बाँकेका नारी स्रष्टा र सिर्जना” का २६ जना नारी स्रष्टालाई नारी रत्न सम्मान

नेपालगन्ज, २६ भदौ – “बाँकेका नारी स्रष्टा र सिर्जना” नयाँ समालोचनात्मक कृतिका नारी स्रष्टाहरुलाई यहाँ एक समारोका वीच “नारी रत्न सम्मान” गरिएको छ । कल्पना फाउन्डेसन नेपालले आयोजना गरेको “बाँकेका नारी स्रष्टा र सिर्जना”को विमोचन, कृति परिचर्चा र पुरस्कार तथा सम्मान कार्यक्रममा बाँकेका २६ जना नारी स्रष्टाहरुलाई “नारी रत्न सम्मान”बाट सम्मान गरिएको हो ।

समालोचक लेकप्रसाद प्याकुरेलद्वारा लिखित तथा कल्पना फाउन्डेसन नेपालद्वारा बाँकेको साहित्यमा ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशित “बाँकेका नारी स्रष्टा र सिर्जना” समालोचना कृतिमा बाँके जिल्लामा रहेर साहित्य सिर्जनामा क्रियाशील २६ जना नारी स्रष्टाहरूका ५४ कृतिहरुको संक्षिप्त समालोचनाहरु समावेश गरिएका छन् । बाँके, बर्दिया, कैलाली र सुर्खेतका समेत एक सय बढी साहित्यकारहरुको सहभागिताका वीच सार्वजनिक गरिएको २६ जना नारी स्रष्टाका ५४ वटा कृतिहरूको समालोचना गरिएको छ ।

कल्पना फाउन्डेसन नेपालका अध्यक्ष कल्पना पौडेल जिज्ञासुको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बाँकेमा रहेर साहित्यमा कलम चलाउने नारी श्रष्टाहरू हालसम्म नौ वटा साहित्यिक कृति सार्वजनिक गरिसकेकी बाँकेकी अग्र साहित्यकार किरण आचार्यदेखि सबैभन्दा पछिल्लो क्रममा बाँकेमा कृति प्रकाशन गर्ने इन्दिरा गौतमसम्मलाई सम्मान गरिएको थियो ।

यसरी “नारी रत्न सम्मान” द्वारा सम्मानित हुनेहरुमा किरण आचार्य, कल्पना पौडेल “जिज्ञासु”, कल्पना खरेल, मीना बराल, सुमित्रा न्यौपाने, चरित्रा शाह, लता शर्मा, ऋचा लुइँटेल, इन्दिरा गौतम, चन्द्रावती अधिकारी, नमिता बराल, कोपिला सङ्ग्रौला, अर्चना पाठक, शान्ति अधिकारी, देवकी निरौला, अन्जु न्यौपाने, गणेशा कार्की, दिला शाह, कृपा अधिकारी, तारा कुमारी रोकाया, पुष्पा श्रेष्ठ, गीता अर्याल, लीला देवी रेग्मी, पवित्रा थापा र निमा डिसी हुनुहुन्छ ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कथाकार सनत रेग्मी र विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य वरिष्ठ साहित्यकार प्रा.डा. कृष्णप्रसाद घिमिरेले सम्मानित नारी स्रष्टाहरुलाई “नारी रत्न सम्मान पत्र” हस्तान्तरण गर्नु भएको थियो ।
साहित्यकार लेकप्रसाद प्याकुरेलको उक्त कृतिको पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष डा. पुष्कर रिजालले समीक्षा गर्नु भएको थियो ।

सोही कार्यक्रममा कृतिशेष मातापिताको स्मृतिमा कल्पना फाउन्डेसन नेपालका अध्यक्ष कल्पना पौडेल ूजिज्ञासुूले स्थापना गर्नु भएको “मनिकणा टिकाराम स्मृति पुरस्कार २०८१” द्वारा पूर्व प्राज्ञ सभा सदस्य डा. हरिप्रसाद तिमिल्सिना र “देउकला टिकानिधि स्मृति पुरस्कार २०८१” द्वारा प्राज्ञ सभा सदस्य महानन्द ढकाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कृतिकार लेकप्रसाद प्याकुरेल, प्राज्ञ महानन्द ढकाल र शशिराम कार्की, वरिष्ठ साहित्यकार डा. हरि तिमिल्सिना तथा किरण आचार्यले कृतिको ऐतिहासिक र गुणात्मक महत्वका बारेमा चर्चा गर्नुभएको थियो । विचार राख्ने क्रममा धेरैजसो वक्ताहरुले बाँकेको नारी स्रष्टा र सिर्जना बाँकेमा रहेर सिर्जनाका क्षेत्रमा कलम चलाउने नारीहरूलाई माथि उठाउन गरिएको सकारात्मक कर्मका रुपमा कृतिलाई चिनाएका थिए । सोही क्रममा प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरेले प्याकुरेलकृत प्रस्तुत कृति अनुसन्धानका दृष्टिले समेत महत्व राख्ने भएकोले यस किसिमको सकारात्मक कार्यको सिको अरु जिल्लाले पनि गर्न सके नेपाली साहित्यमा महिलाहरूको भूमिकाले न्याय पाउने विचार अभिव्यक्त गरेका थिए । डाक्टर हरिप्रसाद तिमल्सिनाले साहित्यकारहरु ईश्वरी प्रसाद रिजालद्वारा लिखित तथा भेरी साहित्य समाजले प्रकाशनमा ल्याएको “बाँकेको शताब्दी साहित्य” पछिको अर्को महत्वपूर्ण कृति बाँकेले प्राप्त गर्न सफल भएको धारणा राख्दै कृतिका कृतिकार प्याकुरेल र प्रकाशक कल्पना फाउन्डेसनलाई बधाई ज्ञापन गर्नुभयो ।

उक्त कार्यक्रममा साहित्यकारहरु ईश्वरी प्रसाद रिजाल, चन्द्रावती अधिकारी, चरित्रा शाह, नमिता बराल, नन्दा घिमिरे, इन्दिरा गौतम लगायतले रचना वाचन गर्नु्भएको थियो । फाउन्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटाले स्वागत गर्नुभएको उक्त कार्यक्रम फाउन्डेसनका साहित्य विभाग सदस्य बोधराज प्याकुरेलले सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *