
नेपालगन्ज, ३ श्रावण – नेपालन्ज उपमहानगरपालिकालाई यही आर्थिक बर्षभित्र बालमैत्री पालिका घोषणा गर्ने अभियान अन्तर्गत बालश्रम रोक्नको लागि निगरानी बढाइएको छ ।
जस अन्तर्गत शुक्रबार नेपालगन्जको घरबारी टोलबाट तिन जना बालकलाई उद्धार गर्नको लागि चेतावनी सहित प्रक्रियामा आउन अनुरोध गरिएको नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख तथा बालश्रम विरुद्धको स्थानिय समन्वय समितिका सदस्य सचिव बालकल्याण अधिकारी पवित्राकुमारी पुरीले बताउनुभयो ।

उहाँले नेपालगन्ज उपमहानगरपालिकाले बनाएको कार्ययोजना अनुरुप बालश्रम रोक्न गतिविधी बढाउन सुरु भएको बताउनुभयो । अनुगमनमा नेपालगन्ज उपमहानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रतिनिधि, वडा नम्बर २ का प्रतिनिधि र सिविन नेपालका प्रतिनिधि सहितको टोली सहभागि रहेको थियो । टोलीले शुक्रबार नेपालगन्जको धम्बोजी र घरबारी टोलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा २ वटा मिठाई पसलमा ३ जना बालक श्रमिका रुपमा राखिएको पाइएको छ । जसमा १ जना भारतीय र १ जना स्थानिय बालक रहेका छन ।
अनुगमन टोलीले बालकको पारिवारीक पुर्नमिलन गरी विवरण ७ दिनमा वडा कार्यालयमा बुझाउन निर्देशन दिएको छ । निर्देशन पालना नभएमा श्रम कार्यालयमा रोजगारदाता विरुद्ध श्रम कानुन, बालश्रम निषेधित तथा नियमन गर्ने ऐन २०५६ बमोजिम उजुरी पक्रियामा जाने तयारी रहेको जनाइएको छ ।
बालमैत्री स्थानीय शासन अबलम्बन गरेको नेपालगन्ज उपमहानगरपालिकाले बालश्रमिकहरु होटल, मिठाई पसल, दोहोरीसाझ, ग्यारेज, सार्वजनिक यातायात, रिक्सा चालकको रुपमा, फर्निचर पसल र घरेलु कामदारको रुपमा छयापछयाप्ती रहेको बताएको छ । खुलेयाम रोजगारदाताहरुबाट बालश्रम निशेधित र नियमन गर्ने ऐन २०५६ को बर्खिलापको रुपमा नेपालगन्जमा बालश्रमिकहरु भेटिएको शुक्रबार अनुगमनमा गएको टोलिले निष्कर्ष निकालेको छ ।
