
चितवन, २ मंसिर – बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको शैया मै टोलाएर बस्नु बाहेक अर्को विकल्प हुँदैन ।
चितवन मेडिकल कलेज भरतपुरमा सोमबार फरक दृश्य देखियो । अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्स एकाएक दिदी बहिनी बनेर भाइटीका लगाइ दिए । पर्व सम्झदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो। बिरामीहरू आफ्नो पीडालाई बिर्सिएर रमाउन थाले ।

नर्सहरूले शैयामा सुतिरहेका बिरामीहरूलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । अस्पतालमा उपचाररत् १५७ जना बिरामीलाई भाइटीका लगाइएको हो ।
अस्पतालकी नर्सिङ अधिकृत अंकिता कुँवरले पुरुष बिरामीहरूलाई उनीहरू कै शैयामा पुगेर भाइटीका लगाएर दीर्घायुको कामना गरिएको जानकारी दिए ।
उनले भने, ‘हामीले पनि आफ्नो दाजुभाइलाई टीका लगाउन पाएनौं, उहाँहरूले लगाउन पाउनु भएको थिएन । जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ रमाऔं भनेर टीका लगाइदियौं ।’
नर्सिङ अधिकृत अर्चना सेढाईको भनाई पनि उस्तै छ ।
पर्वको दिन बिरामीसँगै खुशी साट्न पाउँदा आफूहरू र बिरामी दुवै हर्षित भएको उनले बताए । वरिष्ठ स्टाफ नर्स समिना मिया, नर्स सुस्मा गुरुङ पनि अस्पतालमा बिरामीलाई दाजुभाइ सम्झेर टीका लगाउन पाउँदा सेवासँगै ममता पनि बढेको जानकारी दिए ।
भरतपुर महानगरपालिका १० का ४३ वर्षीय मधुकर लामा पर्व सम्झेर बसिरहेको समयमा एक्कासी भाइटीका लगाउन पाउँदा आधा बिमार निको भएको जस्तो अनुभव भएको बताए ।
उनी मात्रै होइन भरतपुर २८ का श्रीकृष्ण पोखरेल, भीमसेन गाउँपालिका गोरखाका रिदम मरहट्टा, हेटौंडा कमानेका रमेश देउजा पनि अस्पतालमा भाइटीका लगाउन पाइन्छ भन्ने कल्पनासम्म नगरेको बताए ।
अस्पतालले दिएको मायाले धेरै खुशी लागेको उनीहरूको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत देवकोटा बिरामीलाई सेवासँग ममता पनि चाहिन्छ भन्ने भावनाले पर्वको अवसरमा टीका लगाउने व्यवस्था गरिएको जानकारी दिए । सो अवसरमा बिरामीलाई नर्सहरूले टीका लगाउनुको भाइमसला, फलफूल तथा मीठाइ वितरण गरेका थिए । (रासस)
