
अगैया २ मंसिर – रेडियो भूवर भवानी ९८.८ मेगाहर्जले शनिबार प्रथम बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । समृद्धिका लागि सञ्चार नेपाल राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अगैया बाँकेद्वारा सञ्चालित रेडियोले २०७६ कार्तिक १० गते लक्ष्मी पुजाको दिनबाट आफ्नो परिक्षण प्रशारण सुरु गरेको थियो ।

रेडियोको प्राङ्गन राप्ती सोनारी २ अगैयामा बार्षिक उत्सव उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम् राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले आमनागरिक जबसम्म सञ्चारसँग जोडिदैनन्, तबसम्म जतिसुकै विकास भएपनि अर्थ नहुने बताउनु भयो । नागरिकहरु सूचना र सञ्चारबाट बञ्चित भएमा विकासको लक्ष्य पुरा गर्न नसकिने उहाँको भनाई छ ।
राप्तीसोनारी गाउँपालिका सुगम जिल्लाको दुर्गम गाउँपालिका भएको बताउँदै अध्यक्ष थारुले गाउँपालिकाको प्रमुख उद्देश्य भनेको नै प्रत्येक नागरिकलाई आर्थिक अवस्थाबाट मजबुद गराउनु रहेको स्पष्ट पार्नु भयो । ‘हामी यहाँका नागरिकलाई आर्थिक रुपले मजबुद गराउन खोजिरहेका छौं, नागरिकको आर्थिक अवस्था मजबुद नहुँदासम्म गाउँपालिका समृद्ध हुन सक्दैन,’ उहाँले भन्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी एवम् पुर्वमन्त्री प्रेमबहादुर भण्डारीले जुन सञ्चार माध्यमले सत्य बोल्छ, जसले सत्यकुरा लेख्छ र जसले समाजको चित्रण गर्छ त्यो सबैको लोकप्रिय बन्ने बताउनु भयो । मुलुकमा भएको राजनीतिक परिवर्तनलाई संबिधानको माध्यमबाट पुरा गरिरहेको बताउँदै उहाँले विगतका दिनमा परिवर्तनका लागि संघर्ष भएको हुँदा जनताले एउटा आमुल परिवर्तन, नयाँ दृष्टिकोण, नयाँ सोच प्राप्त हुुने आशा गरेको धारणा राख्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथी एवम् सामुदायिक रेडियो प्रशारक संघ
(अकोराब) का बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले आम नागरिकको चेतनाको विकासका लागि सञ्चार माध्यमको विकास अपरिहार्य रहेको बताउनु भयो । अन्य सञ्चार माध्यमको तुलना रेडियोको भुमिका प्रभावकारी हुने वरिष्ठ उपाध्यक्ष गिरीको भनाई थियो । सञ्चार माध्यमको भुमिका आपसी समझदारी र निगरानी गर्नु रहेको उहाँले जोड दिनुभयो । ‘सञ्चार माध्यमले हरेक निकायसँग सझदारी गर्छन् र कतिपय कुराको आलोचना पनि गर्न सक्छन्,’ गिरीले भन्नुभयो ।
नेपाल पत्रकार महासंघका पुर्वमहासचिव एवम् विशिष्ट अतिथी पोषण केसीले सञ्चार माध्यमले स्वच्छ प्रतिस्पर्धा गरेर हरेक कुराको उजागर गर्नुपर्ने बताउनुभयो । सञ्चार माध्यमले सत्य कुराको उजागर गर्न नसके प्रजातन्त्रको रक्षा गर्न नसकिने धारणा राख्नुभयो ।
सञ्चार माध्यमले हरेक सरकारको स्थायी प्रतिपक्षी भएर काम गर्नुपर्ने पुर्वमहासचिव केसीको भनाई छ ।

सामुदायिक रेडियो प्रशारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष केपी घिमिरेले मुलुकको समृद्धि र आर्थिक सशक्तीकरणका लागि सामुदायिक रेडियोको भुमिका महत्वपुर्ण हुने बताउनु भयो । सामुदायिक रेडियोलाई संरक्षण र सम्वद्र्धन गर्ने स्थानीय सरकारको जिम्मेवारी रहेको धारणा राख्नुभयो ।
समृद्धिका लागि सञ्चार नेपालका अध्यक्ष एवम् रेडियो भूवर भवानीका कार्यकारी प्रमुख अर्जुन ओलीले सञ्चार माध्यम स्थापना गर्नुभन्दा पनि स्थापना गरिसकेपछि टिकाईराख्नु महत्वपुर्ण कुरा भएको बताउनु भयो । सबैको माया र हौसलाले गर्दा नै रेडियोले पहिलो वर्ष सफलता पुर्वक पार गरेको उहाँले स्पष्ट पार्नुभयो ।

उद्घाटन समारोहमा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य हिक्मत बिक, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लुम्बिनी प्रदेश सदस्य रामदास थारु, राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष मदन ओली र सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य डिल्ली गिरीले शुभकामना मन्तब्य दिनु भएको थियो ।
समृद्धिका लागि सञ्चार नेपालका उपाध्यक्ष कृष्ण केसीले स्वागत गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन रेडियोका स्टेशन म्यानेजर बिमला चौधरीले गर्नु भएको थियो । बार्षिक उत्सवका अवसरमा रेडियो भूवर भवानीमा कार्यरत सुबिता थारुलाई नगद ५ हजार ५ रुपैयाँ, सम्मान पत्र, खादा र माला लगाएर ‘उत्कृष्ट कर्मचारी सम्मान २०७७’ बाट सम्मान गरिएको थियो ।

यस्तै रेडियालाई आवश्यक सहयोग तथा सहकार्य गर्दै आएकोमा उच्च सम्मान गर्दै राप्तीसोनारी गाउँपालिका कार्यालय र राप्तीसोनारीका ९ वटै वडा कार्यालयलाई कदर पत्र, खादा र मालासहित सम्मान गरिएको थियो । यसैगरी रेडियो भूवर भवानीको स्टेशन आइडीका रचनाकार राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम निवासी डिल्ली डाँगीलाई कदरपत्र, माला र खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम अवधिभर आधा दर्जनबढी नेपाली लोक तथा थारु नृत्य प्रस्तुत गरिएको थियो ।
