Thursday, June 12सत्यम खबर
Shadow

जबरजस्ती करणी प्रयासको आरोपमा वडा सदस्य रियाज पक्राउ

नरैनापुर, २७ जेष्ठ — बाँकेको नरैनापुर गाउँपालिका–१ का वडा सदस्य रियाज खाँलाई जबरजस्ती करणी प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

 

नरैनापुर–१ महतिनियाकी ४२ वर्षीया बिट्टी जोलाहमाथि अनैतिक सम्बन्ध कायम गर्ने प्रयास गरेको आरोपमा वडा सदस्य खाँलाई इलाका प्रहरी कार्यालय भगवानपुरले आज पक्राउ गरेको हो ।

पीडित जोलाहका अनुसार, छोरा विदेश जान लागेकाले आर्थिक समस्यामा परेपछि सहयोगको लागि वडा सदस्य रियाज खाँसँग रकमको माग गर्न गएकी थिइन् । तर, सहयोगको साटोमा रियाजले अनैतिक सम्बन्ध कायम गर्न दबाब दिएको जोलाहको आरोप छ ।

 

उक्त घटना बैशाख ८ गते घटेको बताइएको छ । “पैसा दिन कट्कुइया जानुपर्छ भन्दै एकान्त स्थानमा लगेपछि रियाजले मेरो संवेदनशील अंगमा हात लगाउँदै जबरजस्तीको प्रयास गर्नुभयो,” जोलाहले प्रहरी समक्ष बताउनु भएको छ । पीडितको उजुरीको आधारमा घटना अनुसन्धान गर्दै प्रहरी टोलीले रियाजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि रियाज विरुद्ध दुर्व्यवहार सम्बन्धी मुद्धामा पक्राउ पुर्जी जारी गरिएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका रियाजको आज नै स्वास्थ्य परीक्षण (डक्टरी चेकजाँच) गराइएको छ भने भोलि म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।

 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दीपक पातलीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “सत्यतथ्यको आधारमा कानुनी प्रक्रिया अगाडि बढाइनेछ,” प्रवक्ता पातलीले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *