
नेपालगन्ज २५ जेष्ठ – राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा सञ्चालित तालिमका सहभागीले समाजमा अझै पनि महिला माथी हुने विभिन्न हिंसा तथा विभेदले ठुलो समस्या पारेकोले यसलाई अन्तय गर्न स्थानीय सरकारले नीतिगत रुपमा व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।
समाजमा दाइजो प्रथा, सम्वन्ध विच्छेद, बालविवाह जस्ता मुख्य समस्या भएकाले सो विरुद्ध शसक्त रुपमा आवाज उठाउनु पर्नेमा उनीहरुको जोड थियो । तालिमको समापन गर्दै नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले नगर क्षेत्रमा पनि अशिक्षित तथा गरिब असहाय महिलाहरुको अवस्था अझै पनि दयनिय रहेकाले उनीहरुलाई शसक्तिकरणका लागि यस्तो कार्यक्रम संचालन गरिएको बताउनुभयो । उहाँले महिलाहरुको जागरुकता नै शसक्तिकरण भएकाले सबै भन्दा पहिला आफैमा सचेत भई अभियान संचालन गर्नुपर्ने भन्दै महिला सम्वन्धीको कानूनी अधिकारलाई बुझ्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले स्थानीय महिलाहरु सक्षम भएमा समाज नै समृद्ध हुने भएकाले महिलालाई विशेष सम्मान र अवसर प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले समुदायको विकासमा महिलाहरु नै अग्रसर भएर आफैले समस्या पहिचा नगरि योजना प्रक्रियामा सक्रिय भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिदै सुशासन तथा पारदर्शी समाज निर्माणमा उल्लेख्य भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
कार्यपालिका सदस्य बसन्तकुमार कनोजियाले महिला भनेका घरको लक्ष्मी भएकाले उनीहरुको सम्मान गर्दै हरेक प्रक्रियामा अर्थपुर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । उपमहानगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख वरिष्ठ महिला विकास अधिकृत पवित्राकुमारी पुरीले महिला तथा बालबालिकालाई उपलब्ध गराइने विभिन्न सेवा सुविधाका बारेमा जानकारी गराउनु भएको थियो ।
संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १२ नं. वडा कार्यालयका वडा सदस्य सुशिलापन्त, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टलगायतले बोल्नु भएको थियो । त्यस अवसरमा समाजमा बढी रहेको दाइजो प्रथा, घरेलु हिंसा विरुद्ध पैरबी गर्न ७ बुदें प्रतिबद्धता समेत गरिएको थियो ।
महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि गरिएको दुई दिने क्षमता विकास तालिममा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत विभिन्न वडाका ५५ जना महिला, बालबालिका, र किशोरीहरुको सहभागिता रहेको थियो ।
तालिममा महिला, बालबालिकाको कानूनी अधिकार, अवस्था, समस्या, लैङ्गिक समानता, लैङ्गिक विभेद, नेतृत्व विकास, यौन तथा प्रजनन स्वास्थ्य शिक्ष, बालविवाह, यौन हिंसा, निर्णय क्षमता विकास, कानूनी अधिकार, सुरक्षा, न्याय तथा पहुँचका उपाय, अर्थिक शसक्तिकरण लगायतका विषयमा जानकारी गराइएको थियो ।