Saturday, April 26सत्यम खबर
Shadow

निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ३२ जना नरैनापुरवासी लाभान्वित

नेपालगन्ज, २६ चैत – गोपाल नीना फाउण्डेशनले नरैनापुरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ३२ जना लाभान्वित भएका छन् । नरैनापुर गाउँपालिका वडा नं.३ मा सम्पन्न उक्त शिविरमा सर्वसाधारण स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् ।

फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले दिनु भएको जानकारी अनुसार लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविरबाट ५ सय ३२ जनाको विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण सहित निःशुल्क आषधि वितरण गरिएको थियो ।

शिविरमा ५९ प्रकारका ओैषधी सहित स्वास्थ्य सेवा लिएको फाउण्डेसनका प्रबन्धक निर्देशक दिलिप गिरिले बताउनु भयो ।
निःशुल्क स्वास्थ्य शिविरमा फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्रेष्ठ, डा. तृप्तीपाल रमण, डा. नैमुद्दीन अन्सारी, डा. मेघा मण्डल, डा. ऋषभ श्रीवास्तव, डा. हिमाँशु कर्माचार्यद्वारा सर्वसाधारण गाउँलेहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
निःशुल्क शिविर नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका नागेन्द्रकुमार शाह र नविन बुढाथोकी, औषधि बिक्रेता प्रतिनिधि संघ नेपालगन्जका टिम लगायत नरैनापुर गाउँपालिको स्वास्थ्य शाखा लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

गोपाल नीना फाउन्डेसनको मुख्य आयोजना सम्पन्न सो शिविरमा फाउण्डेशनको मेडिकल टिम, नरैनापुर गाउँपालिका, अन्नपूर्ण ग्याष्ट्रो हस्पिटल, संजीवनी मेडिकल कलेज अफ मेडिकल साइन्स, गणेशमान चोक ड्रस स्टोर, सेभेन क्याफे, नेपालगन्ज लार्जको सहकार्य भएको फाउण्डेसन प्रबन्धक निर्देशक दिलिप गिरिले बताउनुभयो ।

उक्त स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गर्नका लागि फाउण्डेसनका स्वयंसेवकहरु अनुप आर्या, प्रतिभा पौडेल, लोकनाथ शर्मा लगायतको टिमको सक्रिय सहयोग रहेको थियो ।

उल्लेखनीय छ, २०७९ फाल्गुनमा स्थापित उक्त फाउण्डेसनले यसअघि स्थानीय जनमत अद्र्ध साप्ताहिक, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके, हेल्थ याद आयो (मोवाइल हेल्थएप) को समन्वय र सहकार्यमा तीन पटक वृहद् रक्तदान कार्यक्रम गरेको थियो ।

यसैगरी फाउण्डेशनले सरसफाई कार्यक्रम, नील सागर आश्रममा स्वास्थ्य परीक्षण, आश्रितहरुका लागि विहानको खाना र बालबालिकालाई शैक्षिक सामाग्री वितरण, वृक्षा रोपण कार्यक्रम, मानव सेवा आश्रममा आश्रितहरुका लागि विहानको खानासहित अत्यधिक जाडो भएकोले न्यानो सिरक वितरण लगायत विभिन्न सामाजिक क्रियाकलाप तथा स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपालप्रसाद श्रेष्ठ र प्रसिद्ध वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उहाँका सुपुत्र वरिष्ठ पेट रोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा फाउण्डेशन स्थापना गर्नु भएको थियो । नेपालगन्ज–१० निवासी वरिष्ठ चिकित्सकद्वय श्रेष्ठ २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *