
नेपालगन्ज, २२ चैत – बाँके जिल्लाका संस्थागत विद्यालयका प्रिन्सिपलहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्न बर्दियामा दुई दिने प्रिन्सिपल लिडरशिप ट्रेनिङ कार्यक्रम सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेको आयोजनामा ठाकुरद्वारास्थित बबई रिसोर्टमा सञ्चालित यस तालिमको दोस्रो दिन वातावरण संरक्षणलाई प्रोत्साहन गर्न वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, वरिष्ठ उपाध्यक्ष सरद चन्द्र रावल, लुम्बिनी प्रदेश सल्लाहकार ऋषिकेश जिसी, प्याब्सन लुम्बिनी प्रदेश सहसचिव राजेन्द्र आचार्य, प्याब्सन नेपालगन्ज नगर अध्यक्ष मानबहादुर थापा, संरक्षणकर्मी दीप शाही लगायतको सहभागिता रहेको थियो ।
सहभागीहरूले बबई रिसोर्ट परिसरमा सिटलचिनी, कल्की, रिठ्ठा र पीपलका बिरुवा रोप्दै वातावरण जोगाउनु हरेक नागरिकको कर्तव्य भएको उल्लेख गरे ।
वृक्षारोपण कार्यक्रमको संयोजन गरेका प्याब्सन नेपालगन्जका उपाध्यक्ष तथा हरित अध्याता तथा नन भाईलेन्स ट्री क्याम्पेनरको रूपमा परिचित हेमन्त राज काफ्लेले आफूले व्यवस्थापन गरेका बिरुवाहरू रोप्न पाउँदा खुसी लागेको बताए । उनले वृक्षारोपण अभियानले वातावरण जोगाउनुका साथै व्यक्तिगत रूपमा पनि आत्मसन्तुष्टि प्रदान गर्ने धारणा राखे । “जब हामी आफैंले रोपेको बिरुवा हुर्कँदै गरेको देख्छौं, त्यसले हामीलाई आनन्द दिन्छ र वातावरण संरक्षणमा हाम्रो योगदानको महत्व दर्शाउँछ,” उनले भने ।
प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले आफ्नो कार्यकालभरि जिल्लाका विभिन्न विद्यालयहरूमा वृक्षारोपण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यालयलाई हरित क्षेत्र बनाउने लक्ष्य लिएको भन्दै वातावरणमैत्री विद्यालय निर्माणमा प्याब्सन बाँकेको भूमिका उल्लेखनीय हुने बताए । वरिष्ठ उपाध्यक्ष सरद चन्द्र रावलले कुनै पनि कार्यक्रमलाई सार्थक बनाउन वातावरणीय पहलहरू अनिवार्य रूपमा समावेश गर्नुपर्नेमा जोड दिए ।
यस वृक्षारोपण कार्यक्रमले प्रिन्सिपल लिडरशिप ट्रेनिङमा सहभागीहरूलाई नेतृत्व विकासको अवसर प्रदान गर्नुका साथै वातावरण संरक्षणको महत्त्वबारे सचेत बनाएको छ । विद्यालय क्षेत्रको हरियाली प्रवद्र्धन गर्दै भविष्यका पुस्ताहरूलाई हरित वातावरण हस्तान्तरण गर्ने लक्ष्यसहित यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।