Saturday, April 26सत्यम खबर
Shadow

आजदेखि नेपालगन्जमा रोजगार मेला

नेपालगन्ज, १५ चैत – बाँकेमा आज शुक्रबारदेखि रोजगार मेला लाग्ने भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले नेपालगन्जमा दुई दिने बाँके रोजगार मेला लगाउन लागेको हो ।

संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष टंकबहादुर धामीले रोजगार मेलाले तत्काल र दीर्घकालीन रुपमा रोजगार सिर्जना गर्ने बताए । उनले मेला अवधिमा मात्र कम्तीमा १०० जनाले रोजगार पाउने दाबी गर्दै औद्योगिक प्रतिष्ठानको जनशक्तिको आवश्यकता अनुसार सीपमूलक तालिम दिएर दक्ष जनशक्तिलाई भविष्यमा रोजगारी दिने बताए ।

कार्यक्रममा संघका महासचिव तथा रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर रानाभाटले बाँकेका सात वटा स्थानीय तहको आर्थिक सहयोगमा मेला आयोजना गरेकाले स्थानीय तहका रोजगार शाखामा सूचीकृत व्यक्ति र प्रादेशिक महोत्सवमा सूचीकृत बेरोजगार ब्यक्ति सहभागी हुने कार्यक्रममा जानकारी दिए ।

यस्तो छ, संघको प्रेस विज्ञप्ती
नेपालगन्ज पश्चिम नेपालको औद्योगिक सहर हो । पञ्चायत कालदेखि नेपालगन्जमा औद्योगिक क्षेत्र सञ्चालनमा छ । जिल्लामा नौबस्ता औद्योगिक क्षेत्र निर्माणाधीन छ । औद्योगिक क्षेत्र भन्दा बाहिर पनि जिल्लामा ठूलो संख्यामा उद्योगहरु खुलेका छन् । जिल्लाका उद्योग, व्यवसाय र औद्योगिक प्रतिष्ठानका लागि श्रमिकको पूर्ति भने बाँके, बर्दियाका साथै बाहिरी जिल्ला र भारतका विभिन्न राज्यबाट भइरहेको छ । जिल्लामा ठूल्ठूला औद्योगिक र व्यापारिक प्रतिष्ठानहरु सञ्चालन गरिए पनि श्रमिकको माग र आपूर्ति बिचको तादाम्यता नमिलेर यहाँका उद्यमी व्यवसायीहरुले श्रमिक विदेशबाट ल्याउनु पर्ने र यहाँका श्रमिकहरु बाहिर देश र अन्य जिल्लामा जाने बाध्यता छ ।
रोजगारदाता र बेरोजगार ब्यक्तिहरुलाई एकैथलोमा राखेर रोजगारी सिर्जना गर्ने, विद्यमान बेरोजगारी समस्या कम गर्ने, विदेश पलायन न्यूनिकरण गर्ने र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले संघले १५ र १६ चैत्र २०८१ मा नेपालगन्जको सिद्धार्थ कटेजमा बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म दुई दिने रोजगार मेला २०८१ आयोजना गर्न गइरहेको छ । मेलामा उद्योग, पर्यटन र कृषिका विषयमा तीन वटा छुट्टाछुट्टै रोेजगार संवाद हुनेछन् ।
संघले आयोजना गरेको रोजगार मेलामा नेपालगन्ज उपमहानगपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकासँग सहकार्य र साझेदारी रहेको छ । मेलाको मिडिया पार्टनर सम्यक मिडिया प्रा. लि.नेपालगन्ज,टेलिभिजन पार्टनर जी नेपाल एचडी, इन्टरनेट पार्टनर भायोनेट र इन्स्योरेन्स पार्टनर सिद्धार्थ प्रिमियर रहेका छन् ।
मेलामा रोजगारदाताका ३५ वटा स्टल रहनेछन्् । संघले सबैस्टल निःशुल्क उपलब्ध गराएको छ । मेलाबाट कम्तीमा पनि १०० जनाले प्रत्यक्ष रोजगार पाउने अनुमान गरिएको छ । रोजगारदाता र रोजगारको खोजीमा रहेका ब्यक्तिबीच सिधा सम्पर्क हुने भएकाले पनि मेला लगत्तै पनि धेरै रोजगारीका अवसर सिर्जना हुनेहामीले आशा गरेका छौं । रोजगार मेलाले रोजगारदातालाई आवश्यक पर्ने श्रमशक्तिको पहिचान गरेपछि सोही अनुुसारको सीपयुक्त जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेर रोजगारी सिर्जना गरिने प्रतिबद्धता पनि जनाउन चाहन्छौं । त्यसका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारका साथै रोजगारदातासँग सहकार्य गर्नेछौं ।
अन्त्यमा रोजगार मेलाको अवलोकन गरी, सहभागिता जनाइ र प्रचारप्रसार गरेर सफल पार्न सम्पूर्ण पत्रकार, उद्योगीव्यवसायीलगायत सम्पूर्ण सरोकारवाला बाँकेवासीसँग हार्दिक अपिल गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *