Saturday, April 26सत्यम खबर
Shadow

राज्यको फितलो कानुनले बाल सुधारगृहमा पटक पटक झडप

नेपालगन्ज, ६ चैत – राज्यद्वारा निर्माण गरिएको फितलो कानुनले गर्दा जयेन्दु बाल सुधार गृहमा पटक पटक झडप हुने गरेको स्थानीयहरुको आरोप रहेको छ । गत वर्ष यस्तै झडप हुँदा एकजनाको ज्यान समेत गएको बताएका छन् ।

बाँकेको डुडुवा गाउँपालिका–६ को आसमानपुर स्थित रहेको जयेन्दु बाल सुधारगृहमा पटक पटक झडपको स्थिति किन आउने गरेको छ, त्यसको समिक्षा गर्नुपर्ने जानकारहरु बताउँछन् । केही दिन अगाडी मात्र जयेन्दु बाल सुधारगृहमा रहेका बालबन्दी वीच झडप हुँदा ६ जना घाईते भई भेरी अस्पतालमा उपचाररत रहेका थिए भने प्रहरीलाई बल प्रयोग गरी बाल सुधारगृहलाई आफ्नो नियन्त्रणमा लिएर ठूलो क्षति हुनबाट जोगाईएको स्थानीयहरुको भनाई रहेको छ ।

घटना फागु पुर्णिमाका दिन राती करीब १२–१ बजेको बीच दुई पक्षमा विवाद हुँदा झडप हुनुका साथै बिहान बालबन्दीहरुले प्रहरीलाई कुटपिट गरी बाहिर भगाई सुधारगृहमा आगजनी गर्नुका साथै ढंगामुढा समेत गरेका थिए भने यस्तो घटना सुधारगृहमा रहेका बालबन्दीहरुले पटक पटक गर्दै आईरहेको स्थानीयहरुको आरोप रहेको छ ।

बाल विज्याइँ गरेका अभियुक्त र अपराध पुष्टि भएका १८ वर्षभन्दा कम उमेरकालाई यहाँ राख्ने कानुनी प्रावधान छ । मुद्दा किनारा नलागेका र कैद भुक्तानी गर्न बाँकी रहेकालाई यहाँ राख्ने गरिएको छ । पक्राउ पर्ने बेला १८ वर्ष मुनीका भए पनि कैद भुक्तानी र मुद्दा किनारा लाग्दासम्म कतिपय बालबन्दीको उमेर ३० वर्षभन्दा माथि हुने गरेको छ ।

एकै ठाउँमा धेरै समय बसेका र धेरै उमेर भएका बालबन्दीले आफूभन्दा कम उमेर तथा भर्खरै आएकालाई हेप्ने, काममा लगाउने, कुटपिट गर्ने, खान र सुत्न समेत नदिने गरेका कारण यहाँ समय–समयमा दुई पक्ष वीच झडप हुने गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए । ‘पुराना र उमेरमा ठूला बालबन्दीले सानालाई हेप्ने र सुधारगृह भित्र ग्रुप बनाएर अरुलाई भड्काउने गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

बाल सुधारगृहको सुरक्षाका लागि नेपाल प्रहरीको एउटा युनिट राखिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नेपाल प्रहरीको युनिट परिचालन भए पनि त्यहाँ खटिने प्रहरी बालबन्दीको सामु निरिह हुने गरेको छ । सुधारगृह सुरक्षार्थ खटिने प्रहरीले न त नेपाल प्रहरीको पोशाक लगाउन पाउँछन् न त हातहतियार नै राख्न पाउँछन् । जसका कारण त्यहाँ कार्यरत प्रहरी बालबन्दीको दवावमा बस्नु पर्ने बाध्यता छ । ‘हातहतियार त टाढाको कुरा भयो, प्रहरीले लाठीसमेत राख्न पाउँदैन । लाठीसमेत नहुने प्रहरीहरु सुधारगृहका बालबन्दी सामु निरिह बन्नु बाहेक अर्को विकल्प छैन,’ एसपी कार्कीले भने ।

हाल अवस्था सामान्य रहेको जानकारी गराउँदै बाल सुधारगृहबाट ४० जना बालबन्दीलाई नौवस्ता स्थित बाल सुधारगृह, २६ जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रमुख कार्कीले बताए । उनले– अस्तिको विवादमा स्थानीयहरुको १ लाख बढी क्षति भएको हुँदा त्यसमा संलग्नमाथि अनुसन्धन गरी कानुनी प्रक्रियामार्फत क्षतिपूर्ति भराउने प्रक्रियामा अगाडी बढिसकेको जानकारी गराउँदै ३ जना प्रहरी तथा २ जना सञ्चारकर्मीहरुलाई चोट लागेको बताउनुभयो ।

‘बाल सुधारगृहका बालबन्दीको निर्देशनमा प्रहरी चल्नु पर्ने अवस्था छ । उनीहरुले भनेको नमान्ने र नगर्ने हो भने प्रहरीमाथि कुटपिट गर्ने, आफूसँग भएका बालबन्दीलाई उक्साएर तोडफोड गर्न लगाउने, बाहिर भाग्ने, कार्यालयमा तोडफोड गर्ने जस्ता हर्कत हुन्छन्,’ बाल सुधारगृहमा सुरक्षामा खटिएका एक जना प्रहरीले बताए ।’ ‘१८ वर्ष नपुगेका बालबन्दीलाई राख्न बनाइएको बाल सुधारगृहमा ३०–३५ वर्षसम्मका बन्दीलाई राख्दा लफडा हुने भएको हुँदा सो कानुन परिवर्तनको लागि प्रतिवेदन सदनमा पठाएको स्रोतको दाबी छ ।


‘उनले बाल सुधारगृहका लागि बनेको ऐन, कानुन परिमार्जन गरि नयाँ बनाउनु पर्ने बेला भएको बताए । १८ वर्ष मुनीका बालबन्दीलाई मात्र बाल सुधारगृहमा राख्ने र १८ वर्ष पूरा भएपछि कारागार पठाउने ब्यवस्था गर्न जरुरी छ,’ मानवअधिकारकर्मीले बताए ।

राज्यको नीतिका कारण डुडुवा गाउँपालिका–६, आसमानपुर स्थित बाल सुधारगृहको ब्यवस्थापन फितलो हुँदा स्थानीयले समेत सास्ती खेप्न परेको छ । सुधारगृहबाट भागेका बालबन्दीहरु स्थानीयको घरमा लुकेर बस्दा स्थानीयले सास्ती खेप्न परेको हो । ‘बालबन्दी लुकेको आशंकामा प्रहरीले घर खानतलासी गर्छ । कतिपय अवस्थामा गाली गलौज समेत हुन्छ । हामी प्रहरी र बालबन्दी दुवै पक्षबाट पीडित छौँ,’ स्थानीयको आरोप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *