
कोहलपुर, २७ फागुन – संविधान सभाकी पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले संविधानले महिलाको नेतृत्व तोकेरै पठाएको भए पनि व्यहारिक कार्यान्वयनमा जटिलता रहेको बताउनु भएको छ । क्रियाशिल पत्रकार महिला बाँकेले सण्डे कल्ब अन्तर्गत आज नेपालगन्जमा सम्पन्न गरेको कार्यक्रममा मुख्य बक्ताका रुपमा सुवेदीले संविधानले तोकेको अधिकार समेत नपाउनु दुःखद भएको बताउनुभयो ।
विक्रम संवत् २०१५ सालमा जन्मनु भएकी सुवेदी विक्रम संवत २०३४ सालदेखि हालसम्म राजनीतिमा सक्रिय हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टिमा निरन्तर सक्रिय सुवेदीले जनयुद्धको अनुभव आज कार्यक्रममा सुनाउनु भएको छ । युद्धको बेला गोली कानको छेउबाटै जाँदा समेत नडराएर मोर्चा सम्हाल्दाको क्षण सुनाउँदा उहाँ भाबुक बन्नुभयो । पारिवारीक तथा सामाजिक उल्झनहरुलाई छिचोल्दै पार्टीका विभिन्न मुख्य पदहरु उहाँले सम्हाल्दै निरन्तर अगाडि बढिरहनु भएको छ ।
पत्रकार तथा राजनीतिक महिलाहरु बिच उहाँले संघर्षका कथा सुनाउनुभयो भने सहभागिहरुले गरेका प्रश्नमा जवाफ समेत दिनुभयो । वेलायत, भियतनाम, जर्मन, थाइल्याण्ड, चिन, स्पेन, फ्रान्स र भारतका विभिन्न स्थानमा भ्रमण गरिसक्नु भएका सुवेदीले राजनिती मात्र नभई सबै स्थानमा महिला सहभागिता निर्णायक हुुनुपर्ने धारणा राख्नुभयो । उहाँ जस्तै उदाहरणीय व्यक्तिबाट समाजमा उत्प्रेरणा प्रदान गर्नु, नेतृत्व विकास गर्नु तथा समसामयिक समस्याका बिषयबस्तु माथि पैरवि गर्नु कार्यक्रमको उद्देश्य रहेको क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले कुनै पनि व्यक्तिको संघर्षको कथाले समाजमा उत्प्रेरणा प्रदान गर्नुका साथै व्यवहारिक जिवनमा सफलता ल्याउने बताउनु भयो । कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले यस्ता कार्यक्रम निरन्तर हुन आवश्यक रहेको बताउनु भयो ।